नेभिगेशन
खेलकुद

नेपालसँगै म्यानमार फोर नेसन्स अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा

काठमाडौं - आयोजक नेपालसँगै म्यानमार फोर नेसन्स अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोली आ आफ्नो खेलमा विजयी हुँदै एक खेलअघि नै उपाधि नजिक पुगेका हुन् । नेपालले लेवनानलाई १–० ले हरायो । ११ हजार ८ सय ७३ समर्थकमाझ सावित्राले निर्णायक गोल गरेकी थिइन् । 

दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० ले हराएको थियो । लगातार दोस्रो जितपछि नेपाल र म्यानमारको समान ६ अंक छ । गोलअन्तरमा म्यानमार शीर्ष स्थानमा छ । लगातार दोस्रो हारपछि किर्गिस्तान र लेवनान प्रतियोगिताबाट बाहिरिएका छन् । अब, सान्वना जितको लागि किर्गिस्तान र लेवनान तथा शीर्ष स्थानमा रहँन नेपाल र म्यानमारबीच आइतबार प्रतिस्पर्धा हुनेछ । 

आफूभन्दा ३१ स्थान तल रहेको लेवनानविरुद्धको जितमा सावित्राले निर्णायक गोल गरिन् । दशरथ रंगशालामा नेपालले खेलको ४१औं मिनेटमा अग्रता बनायो । स्ट्राइकर सवित्रा भण्डारीले गोल गरिन् । उनले बक्स बाहिरबाट हानेको प्रहार लेवनानको डिफेन्डर फरा एल तैयरलाई लाग्दै गोल भएको थियो । प्रतियोगितामा सावित्राको यो पहिलो गोल हो । 

यसअघि खेलको इन्जुरी समयमा लेवनानको जावा अरवीको प्रहार क्रसबारमा लागेर फर्किएपछि लेवनान बराबरी गर्न चुकेको थियो । यसअघि अग्रपंक्तीमा सावित्रासँगै रेखा पौडेल, रश्मीकुमारी घिसिङ, सविता रानामगर चुक्दा नेपाल एक गोलबाट बढाउन सकेन । 

लेवनानविरुद्ध नेपालको लगातार दोस्रो जित हो । यसअघि सन् २०२४ मा भएको खेलमा नेपालले लेवनानलाई २–१ ले हराएको थियो । वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रीति राई र सावित्रा भण्डारी चम्किएपछि नेपालले पहिलो भेटमा रोमाञ्चक जित निकालेको हो । 

फोर नेसन्सको दोस्रो खेलमा प्रशिक्षक राजेन्द्र तामाङले दुई खेलाडी परिवर्तन गरेका थिए । पहिलो खेलमा कीर्गिस्तानविरुद्ध घाइते भएकी डिफेन्डर निशा थोकरको स्थानमा समिक्षा घिमिरे खेलिन् । दोस्रो हाफमा मैदान उत्रिएकी स्ट्राइकर सावित्रा भण्डारीलाई दोस्रो खेलमा भने तामाङले सुरुमै खेलाएका थिए । 

गोलकिपरमा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बारहँदा समिक्षाले गीता राना, पुजा राना र विमला वि.कलाई साथ दिइन् । मिडफिल्डरमा रेनुका नगरकोटेसँगै प्रीति राई, सविता राना मगर र विमला चौधरीलाई निरन्तरता दिइएको थियो । सावित्रालाई अग्रपंक्तीमा रेखा पौडेलले साथ दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद