नेभिगेशन
खेलकुद

‘बी’ डिभिजनका १० क्लबले भने– तीन महिनाको लिग लामो भयो, ५० दिनमा सक्काउ

काठमाडौं- ‘बी’ डिभिजनका १० क्लबले लिग ५० दिनमै सक्काउन अखिल नेपाल फुटबल संघ (एन्फा)समक्ष माग गरेका छन्।

तीन महिनाको लिग राखेर आफूहरूलाई एन्फाले अन्याय गरेको भन्दै लिगका १४ मध्ये १० क्लबले मंगलबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई ज्ञापन पत्र बुझाएका हुन्।


‘एन्फाले सार्वजनिक गरेको ‘बी’ डिभिजनको खेल तालिका तीन महिना छ, जुन अघिल्लो पटकको भन्दा लगभग दोब्बर हो। यसले एकातिर क्लबको खर्च पनि एक तिहाइ बढ्ने छ भने अर्कोतिर खेलाडीको पढाइ, परीक्षा, रोजगारीलगायत विभिन्न खालका समस्या उब्जाउने हुँदा यसमा असहमति पनि आइसकेको छ। त्यसैले हप्तामा दुई खेलका दरले ५० दिनमा लिग सक्ने गरी खेल तालिका मिलाउनु पर्ने,’ क्लबले बुझाएको ज्ञापन पत्रको बुँदा नम्बर २ मा भनिएको छ।

एन्फाले फागुन २५ गतेदेखि लिग गर्ने भन्दै खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ। गत माघ २५ गते सार्वजनिक खेल तालिकाअनुसार उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगन्ज युनाइटेड भिड्ने छन्। 

गत लिग सुरु हुन केही दिन बाँकी रहँदा आरसिटी, वीरगन्ज युनाइटेड, टुसाल युथ क्लब, श्री कुमारी क्लब, मध्यपुर युथ एसोसिएसन, सरस्वती युवा क्लब, ब्रिगेड ब्वाइज क्लब, नयाँ बस्ती युवा क्लब, च्यासल युथ क्लब र ब्वाइज युनियनले एन्फा गुहार्न पुगेका हुन्। 

यी १० क्लबले दिइने भनिएको दुई लाख रुपैयाँ लिग सुरु हुनुभन्दा अगावै दिनुपर्ने र दुई लाख बराबरको केल्मी ब्रान्डको सामाग्री एन्फाले पाउने छुटमा उपलब्ध गराउने पर्ने माग पनि सारेका छन्।

यस्तै, प्रतियोगिता नियमावलीको नियम २२ का चार वटा बुँदामा ‘यदि कुनै क्लब लिगमा सहभागी नभएमा कारबाही तथा जरिवाना समावेश गरिएकोमा यदि एन्फाको तर्फबाट लिग नभएमा वा रोकिएको खण्डमा क्लबको खर्च भएको रकम उपलब्ध गराइने छ’ भन्ने बुँदा थप गरी नियमावली संशोधन गर्नुपर्ने माग पनि सारेका छन्।

आफ्नो माग तीन दिनभित्र सम्बोधन नभए लिग खेल्न बाध्य नहुने र त्यसको सम्पूर्ण जिम्मेवारी एन्फाले लिनुपर्ने क्लबहरूले चेतावनी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद