नेभिगेशन
खेलकुद

विमलाको निर्णायक गोलमा नेपालको विजयी सुरुवात

काठमाडौं - विमला चौधरीको निर्णायक गोलसँगै अन्तर्राष्ट्रिय फोर नेसन्स कपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिफा वरियतामा आफूभन्दा २५ स्थान तल रहेको किर्गिस्तानलाई १–० ले हरायो । जितपछि नेपालले तीन अंक हासिल गरेको छ । 

नेपालले खेलको दशौं मिनेटमै गोल गरेको थियो । विंगर विमला चौधरीले हेडर गोल गरिन् । सविता राना मगरले कर्नरको दायाँ भागबाट गरेको क्रसलाई विमला चौधरीले सहज गोल गर्दै सात हजार समर्थकलाई खुसीयाली दिलाएकी थिइन् । 

तर, त्यसपछि फाइनल थर्डमा नेपाल बारम्बार चुकेको थियो । प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो हाफको सुरुमै फ्रान्सबाट स्वदेश फर्किएकी सावित्रा भण्डारीलाई मैदान पठाएका थिए । तरपनि नेपाल फिनिसिङमै चुक्यो । सावित्रासँगै सविता रानामगर, रेखा पौडेल र रश्मीकुमारी घिसिङले बारम्बार अवसर पाएपनि गोल गर्न चुके । 

अन्तर्राष्ट्रिय फुटबलमा यी दुईबिच दोस्रोपटक प्रतिस्पर्धा भएको हो । यसअघि सन् २०१९ मा नाजेद्दा कपमा नेपालले किर्गिस्तानमाथि ८–२ को सानदार जित निकालेको थियो । सो खेलमा सावित्रा भण्डारीले चार र अनिता बस्नेतले दुई गोलका थिए । किर्गिस्तानको पोस्टमा दीपा राई र निरु थापाले समान एक गोल थपे । दीपा र निरु वर्तमान टोलीमा छैनन् । दुबैले संन्यास लिइसकेका छन् । 

प्रशिक्षक राजेन्द्र तामाङले पहिलो खेलमा किर्गिस्तानविरुद्ध कप्तान अञ्जिला तुम्बाप्पो सुब्बालाई गोलपोष्टको जिम्मेवारी दिएका थिए । अञ्जिला यही प्रतियोगिता खेल्न ग्रिसको शीर्ष डिभिजन लिग छाडेर नेपाल आएकी हुन् । 

डिफेन्डरमा गीता रानालाई निशा थोकर, पुजा राना र विमला विकले साथ दिएका थिए । निशाले पहिलो पटक राष्ट्रिय टिमको प्लेइङ सेटमै खेल्ने अवसर पाएकी हुन् । मिडफिल्डमा पूर्व कप्तान रेनुका नगरकोटेलाई प्रीति राई, सविता रानामगर र विमला चौधरीले साथ दिए । नेपालको अग्रपंक्तिको जिम्मेवारी लिगमा सर्वाधिक ३५ गोल गरेकी रश्मीकुमारी घिसिङ र युएईमा ब्यवसायिक फुटबल खेलिरहेकी रेखा पौडेलले पाएका थिए । 

फ्रान्समा ब्यवसायिक फुटबल खेलेर विहान मात्रै नेपाल ओर्लिएकी स्टार स्ट्राइरकर सावित्रा भण्डारीलाई बेन्चमा राखेका थिए । 

खेलभर लेवनानले एकमात्रै मौका बनायो । खेलको ५५औं मिनेटमा लेवनानले काउन्टरमा पाएको बललाई कप्तान अञ्जिलाले बक्सभित्रबाट क्लियर गरेकी थिइन् । 

खेलको २१औं मिनेटमा नेपाल दोस्रो गोल गर्नबाट चुक्यो । सविताकै पासमा रश्मीले सिक्स यार्ड बक्समा पाएको बललाई प्रहार गर्न ढिला गर्दा किर्गिस्तानकी डिफेन्डरले क्लियर गरेर संकट टारेकी हुन् । खेलको २९औं मिनेटमा रेखाले बक्स भित्रबाट हानेको प्रहार किर्गिस्तानकी गोलकिपर दिल्नुरा अविदुला किजीले नियन्त्रणमा लिएका थिइन् । 

खेलको पहिलो हाफको इन्जुरी समयमा नेपाल लगातार गोल गर्नबाट चुक्यो । रश्मी र सविताले लगातार गरेको प्रहार क्रसबारमा लागेर फर्किँदा नेपाल दोस्रो गोलबाट चुकेको थियो । लगत्तै रेखाले गरेको प्रहार लेवनानी डिफेन्डरले क्लियर गरेकी थिइन् । 

८१औं मिनेटमा किर्गिस्तानका डिफेन्डरले फुत्काएको बललाई सविताले बक्सभित्र भेटेपनि गोल गर्न सकिनन् । गोलकिपर बिट भएको अवस्थामा उनले गरेको प्रहार बाहिरिएको थियो । 

फोर नेसन्समा सबैभन्दा बलियो म्यानमार हो । म्यानमार फिफा वरीयताको ५५औँ स्थानमा छ । नेपाल १०३, किर्गिस्तान १२८ र लेबनान १३४औँ स्थानमा छन् ।


आज नै भएको पहिलो खेलमा म्यानमारले लेवनानलाई ३–१ ले हराउँदै महत्वपूर्ण तीन अंक जोडेको छ । 

अब, नेपालले ८ फागुनमा लेवनानसँग खेल्दा म्यानमारले किर्गिस्तानसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद