नेभिगेशन
खेलकुद

साम्बाले कीर्गिस्तान विरुद्ध नखेल्ने

काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले महिला अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेल नखेल्ने भएकी छिन्।

नेपालले सोमवार कीर्गिस्तान विरूद्धको खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । साम्बा भोलि बिहान मात्र फ्रान्सबाट स्वदेश आइपुग्नेछिन्।

प्रि म्याच कन्फरेन्समा आइतवार नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टाढाबाट आउँदैछिन् र उनलाई आराम चाहिने भएकोले पहिलो खेल नखेल्ने बताए।

साम्बा फ्रान्सको शीर्ष डिभिजन लिग एन अभान्ट ग्वेंगाम्पबाट व्यवसायिक फुटबल खेलिरहरकी छिन्। उनी भोलि बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन्।

ग्रिस खेलिरहेकी गोलकिपर एवम् कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा र दुबईमा खेलिरहेकी स्ट्राइकर रेखा पौडेल यसअघि नै स्वदेश फर्केर टोलीमा समावेश भइसकेका छन्।

फिफा विन्डो अन्तर्गत अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिप सोमवार सुरु हुँदैछ। जहाँ घरेलु टोली नेपाल सहित लेबनान, कीर्गिस्तान र म्यानमरले उपाधिका लागि खेल्दैछन्। राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।

पहिलो दिन सोमवार म्यानमार र लेबनानबिचको खेल दिउँसो २ बजे तथा नेपाल र कीर्गिस्तानबीच खेल साँझ ६ बजे सुरु हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद