वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तीनजना पक्राउ
काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ घर भई ललितपुरको ललितपुर महानगरपालिका-१ बस्ने ३५ वर्षीया प्रभा श्रेष्ठ रायमाझी, बर्दियाको राजापुर नगरपालिका-७ घर भई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-१० बस्ने ३४ वर्षीया सिर्जना पौडेल र खोटाङको हलेसी तुवाचुङ नगरपालिका-५ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-४ बस्ने ३८ वर्षीय राकेशन राई रहेका छन्।
पक्राउ मध्ये प्रभाले सिंगापुर पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ७ लाख रुपैयाँ, सिर्जनाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रुपैयाँ र राकेशनले युके पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट १९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रभालाई ललितपुर महानगरपालिका-१ बाट र सिर्जनालाई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-१० बाट आइतबार तथा राकेशनलाई भक्तपुर सूर्यविनायक नगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।