नेभिगेशन
सुरक्षा–अपराध

माओवादीले लुकाएका हतियार कहाँ छन्, प्रचण्डलाई थाहा छ?

काठमाडौं– माओवादी सशस्त्र द्वन्द्व कालमा लुकाइएका कतिपय बमहरु पड्कीएर हालै मात्र पनि सर्वसाधारण घाइते भएका घटनाबारे टिप्पणी हुने गरेका छन्।

माओवादी विभाजनपछि अर्ध सैनिक आन्दोलनमा लागेको नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले पनि हतियारको प्रयोग गरेको थियो। 

ति हतियारहरु मात्र होइन, माओवादीले शान्ति प्रक्रियामा अनमिनलाई प्रमाणिकरण नगरेकोबाहेक लुकाइएका हतियार कहाँ छन्? 

नेपालमा १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन गरेको माओवादीले आफ्ना सबै हतियार राज्यलाई बुझाएको डेढ दशकपछि अधिकारीहरूले माओवादीले राष्ट्रसङ्घीय अनुगमनबाट केही हतियारहरू लुकाएर राखेको खुलाएका थिए।

नेपालमा शान्ति प्रक्रियाको मध्यस्थताका लागि आएको राष्ट्रसङ्घीय शान्ति नियोग (अनमिन)ले माओवादीका लडाकु र हतियारको प्रमाणीकरण र अनुगमन गरेको थियो।

चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा भएको विशेष कार्यक्रममा विसं २०६७ माघ ८ गते माओवादी लडाकुका शिविर र हतियार तत्कालीन सेना समायोजन विशेष समितिको मातहतमा आएको घोषणा गरिएको थियो।

त्यसको एक वर्षपछि २०६८ चैत २८ गते माओवादीसँग रहेका भनिएका सबै हतियार नेपाली सेनालाई जिम्मा लगाइएको थियो।

लडाकु तथा हतियार अनुगमनको जिम्मेवारी लिएको अनमिनले २०६७ पुस मसान्तबाट फिर्ता भएपछि हतियार अनुगमनको जिम्मा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र माओवादी लडाकू सम्मिलित टोलीलाई दिइएको थियो।

शान्ति सम्झौतापछि सशस्त्र विद्रोह छोडेको माओवादीले आफूसँग भएका ३,४७५ वटा विभिन्न हतियारहरू अनमिनको उपस्थितिमा प्रमाणित गराएको थियो।

तर माओवादी लडाकु व्यवस्थापनमा संलग्न अधिकारीहरूले अन्मिनबाट प्रमाणित नगराएका केही हतियारहरू माओवादीले सेना समायोजनको अन्तिम चरणमा राज्यलाई बुझाएको बताएका थिए। माओवादीकै नेता र एक जना पूर्व लडाकुले पनि यसको पुष्टि गरेका छन्।

माओवादीले प्रमाणित गराएका हतियार सात ठाउँमा रहेका माओवादी लडाकुका शिविरहरूमा राखिएका १४ वटा कन्टेनरभित्र अनमिनको समेत निगरानीमा राखिएको थियो।

सरकार र माओवादीबीच विसं २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामा शिविरको सुरक्षाका लागि आवश्यक पर्ने बाहेकका सबै माओवादीका हतियार राष्ट्रसङ्घको निगरानीमा शिविर भित्रै साइरनजडित संयन्त्र सहित भण्डारण गर्ने उल्लेख थियो।

माओवादीले विसं २०६४ चैत्रमा भएको संविधानसभा निर्वाचन अघि नै आफ्ना हतियार अनमिनबाट प्रमाणित गराएर कन्टेनरमा राखेको थियो।

माओवादीले प्रमाणित गराएका मध्ये करिब ५०० वटा हतियार शिविरको सुरक्षाका लागि राखिएको थियो। ती हतियार पनि सेना समायोजन प्रक्रियाको अन्त्यतिर नेपाली सेनालाई बुझाइएको थियो।

सरकारले विसं २०६८ चैतमा माओवादी शिविरको सुरक्षामा नेपाली सेना खटाएसँगै शिविरभित्र कन्टेनरमा राखिएका हतियार सरकारले नेपाली सेनालाई जिम्मा दियो।

‘हापुरेमा वार्ता चलिरहँदा दोरम्बामा माओवादीहरू मारिएकै हुन्। हामीलाई शान्ति प्रक्रियामा सरकारको प्रतिबद्धताबारे पूर्ण विश्वास नभएका कारण केही हतियार लुकाएकै हो। पछि विश्वस्त वातावरण भएपछि ती हतियार बुझाएका हौँ’,त्यसबेला एक लडाकु कमान्डरले भनेका थिए। 

सात वटै शिविरहरूमा कम्तीमा ३० देखि ४० वटाका दरले यस्ता हतियारहरू लडाकुहरूले आफूसँगै राखेका थिए। यकिन सङ्ख्या आफूलाई याद नभए पनि त्यस्ता हतियारहरू ३०० देखि ४०० को बीचमा हुनसक्ने अनुमान गरिएको थियो।

माओवादीका तत्कालीन लडाकु सह–कमान्डर समेत रहेका युवराज दुलालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानसेनापति रूकमाङ्गद कटवाललाई पदबाट हटाउने निर्णयपछि सेनाबाट कू हुने आशङ्का गरिएको र माओवादी लडाकुले हतियार सहित बालुवाटारमा उनको पहरा दिएको बताएका थिए। 

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका हाल नेसपा नयाँ शक्तिका नेता बाबुराम भट्टराईको जीवनी समेटिएको पुस्तक ‘अविराम बाबुराम’मा भट्टराईलाई उद्धृत गर्दै माओवादीले चार सय हतियार लुकाएको उल्लेख थियो।

अनिल थापाद्वारा लिखित पुस्तकमा ‘बाबुराम त्यस बेलाको घटना स्मरण गर्छन्, ‘गिरिजाबाबु, केही ठेगान छैन, अलिकति हतियार त राख्नुपर्छ कि ? यति भन्नासाथ कोइरालाले अप्रत्याशित जवाफ दिए। कोइरालाले जोसिँदै भने,– हुन्छ, हुन्छ राख्नूस, राख्नूस के पर्छ पर्छ। अलिकति लुकाउनुस्, हामीले पनि लुकाएकै हो।’

‘त्यसपछि माओवादी लडाकु र हतियार शिविरमा जम्मा गर्ने क्रममा चार सय थान आधुनिक र राम्रा राम्रा हतियार लुकाइयो। यो कुरा माओवादीमा प्रचण्ड, बाबुराम र केही कमान्डरलाई मात्र थाहा थियो भने अन्य दलमा (गिरिजा प्रसाद)कोइरालालाई मात्र थाहा थियो’,पुस्तकमा उल्लेख छ।

अहिले ति हतियारबारे चर्चा हुने गरेको छैन। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बेलामौका फेरि पनि क्रान्ति गर्न सकिन्छ भनी राजनीतिक धम्की दिनेमा पछि पर्दैनन्। ति हतियार कहाँ छन् भन्ने विषय प्रचण्डलाई जानकारी हुन सक्ने लख काटिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ