नेभिगेशन
राजनीति

कोरमै नपुगेको बैठकबाट रविको निर्देशनमा रास्वपा कोशी सभापतिलाई गरियो निलम्बन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको निर्देशनमा कोशी सभापति राजेश तिम्सिनालाई कारबाही गरिएको छ।

कार्यबाहक सभापतिको जिम्मेवारी लिएका डोलप्रसाद अर्यालले तिम्सिनालाई कारबाही गर्न कोशी प्रदेशलाई निर्देशन दिइएको थियो। उनलाई निलम्बन गरिएको छ। 

पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई पार्टीमा फर्काउने पत्र पठाएपछि उनीमाथि यो कारबाही गरिएको बताइन्छ।

पार्टीको अनुशासन समितिका संयोजक डा. भरत मणि देवकोटाले काठमाडौंमा तिम्सिनालाई निलम्बन पत्र हस्तान्तरण गरेका छन्। अनुशासन आयोगले तिम्सिनालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको हो।

तिम्सिनाले पूर्वमहामन्त्री ढकाललाई पुरानै हैसियत दिनका लागि माग गर्दै पत्र पठाएका थिए।

तिम्सिनाले साधारण सदस्यबाट निष्कासित गरिएका पूर्व महामन्त्री ढकाललाई पूर्ववत् जिम्मेवारीमा फर्काउन माग गर्दै पार्टीका कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका थिए।

सुनसरीको इटहरीमा बोलाइएको प्रदेश समितिको बैठकमा तिम्सिनामाथि कारबाही गर्ने प्रयास विफल भएको थियो। उक्त बैठकमा ६२ सदस्यीय प्रदेश समितिका जम्मा १३ जना सदस्य मात्र उपस्थित भएका थिए।

कोरम पनि नपुगेको बैठकले गरेको कारबाही बैधानिक नहुँदा नहुँदै सभापति रवि लामिछानेको ठाडो आदेश भनेर सिफारिस गरिएको एक सदस्यले बताए। 

‘तानाशाही हिसाबले निर्णय भयो’, कोशी प्रदेश समितिका एक सदस्य भन्छन्,‘माग नै राख्न नपाइने भन्ने हुन्न। त्यो पत्र खारेजसम्म गर्न सकिन्थ्यो, सभापति पद नै खाइदिने यो त लोकतान्त्रिक चरित्रको पार्टी भएन नि।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति