एनपीएल : चितवन राइनोजले भित्र्यायो भयानक बलर जसले विश्वकप र आईपीएल जिताएका थिए
काठमाडौं– त्रिवि मैदानमा भोलीदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि फ्रेन्चाइज चितवन राइनोजले विश्वका भयानक मध्यका एक बलरलाई भित्राएको छ।
योसँगै अब नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको एनपील झनै रोचक हुने निश्चित छ।
चितवन राइनोजले पाकिस्तानी क्रिकेटर सोहिल तानबीरलाई अनुबन्ध गरेको हो। टोलीका अध्यक्ष आयुष न्यौपानेले विज्ञप्ति जारी गर्दै बायाँ हाते पेस बलर तानबीरलाई अनुबन्ध गरेको जानकारी दिएका छन्।
‘एनपीएलको पहिलो सिजनका लागि पाकिस्तानी क्रिकेटमा लामो समय खेलिसकेका अनुभवी खेलाडी सोहेल तानबीरलाई अनुबन्ध गरेको घोषणा गर्न पाउँदा चितवन राइनोजको टिम निकै उत्साहित छ,’ न्यौपानेले भनेका छन्,‘बायाँ हाते पेस बलिङ गर्ने तानबीरको भिन्न किसिमको शैलीले उनलाई विश्वभरका क्रिकेट लिगहरूमा चर्चा कमाउन निकै मद्दत गरेको छ।’
तानबीर राजस्थान रोयल्सको तर्फबाट खेलेर इन्डियन प्रिमियर लिग (आईपीएल) जितिसकेका खेलाडी हुन्। उनी पाकिस्तान सुपर लिग विजेतासमेत हुन्।
तानबीरको सबैभन्दा ठूलो उपलब्धि पाकिस्तान टिमबाट सन् २००९ को टी–२० विश्वकप जित्नु पनि हो। तानबीरले भनेका छन्,‘मैले यसलाई एक चूनौतीका रुपमा लिएको छु । नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ । मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यान छन्।’
तानबीर विशिष्ट बलिङ शैलीका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा चिनिएका छन्। उनी विशेष रूपमा बायाँ हातले मध्यम गतिमा बलिङ गर्ने खेलाडी हुन्, जसको बलिङ एकदमै अनौठो छ।
खासगरी तानबीरले आफ्नो करिअरमा टी–२० क्रिकेटलाई निजी जस्तो बनाएका छन्। उनको पूरा नाम सोहेल फजल तानबीर हो।
४० बर्षीय तानबीर पाकिस्तानको पञ्जाब राज्यको रावलपिन्डीमा जन्मिएका हुन्। ६ फिट ३ इन्च उचाई भएका तानबीर बायाँ हातले बलिङ र दायाँ हातले ब्याटिङ गर्छन्।
तानबीरले २००७ मा भारतमा आयोजित पहिलो टी–२० विश्वकप मार्फत आफ्नो अन्तर्राष्ट्रिय करियरको सुरुवात गरेका थिए।
उनी आफ्नो बलिङको अनौठो शैली र प्रभावकारी प्रदर्शनका कारण छिट्टै चर्चित भए।
२००७ मा भारतविरुद्ध टेस्ट म्याचमा उनको डेब्यु भयो। जम्मा दुई टेस्ट म्याच खेलेका उनले ५ विकेट लिएका थिए। भारतविरुद्ध नै उनले एक दिवसीय (ओडीआई) पनि खेलेका छन्। ६२ ओडीआई खेलेका उनले ७१ विकेट लिएको रेकर्ड छ।
२००७ मै भारतविरुद्ध नै उनले टी–२० अन्तर्राष्ट्रिय पनि डेब्यु गरेका थिए। ५८ खेल खेलेका उनले ५४ विकेट लिन सफल भए। टी–२० अन्तर्राष्ट्रियमा इतिहास मानिने सर्वश्रेष्ठ बलिङ ६ विकेट लिएर १४ रन मात्र खर्च गर्न उनी सफल भएका थिए।
संसारकै महँगो मानिने इन्डियन प्रिमयर लिग (आईपी)एलमा तानबीरले पहिलो संस्करणमा राजस्थान रोयल्सका लागि सबैभन्दा बढी २२ विकेट लिने खेलाडीका रुपमा नाम दर्ता गराए।
पाकिस्तान सुपर लिग (पीएसएल)मा पनि विभिन्न फ्रेन्चाइज टोलीहरूका लागि खेलेका छन्। उनले कराची किङ्स, लाहोर कलन्दर्स र मुल्तान सुल्तान्सको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका रेकर्ड छन्।
उनले बिग ब्यास लिग (अष्ट्रेलिया), क्यारेबियन प्रिमियर लिग (वेस्ट इन्डिज), बंगलादेश प्रिमियर लिग (बीपीएल) र अन्य विभिन्न टी–२० लिगमा पनि भाग लिएका छन्।
तानबीरको बलिङ शैली अरू खेलाडीभन्दा निकै फरक छ। उनको हात बल फाल्दा लगभग लेग स्पिनरको जस्तो देखिन्छ तर तीव्र गतिमा बलिङ गर्ने भएकाले उनी मध्यम गतिका बलरको श्रेणीमा पर्छन्।
तानबीरले आफ्नो करिअरमा केही चोटपटक र विवादहरूको सामना गर्नुपरेको थियो। पाकिस्तान टोलीबाट कहिलेकाहीँ उनी चयन नगरिनु, चोटका कारण प्रतियोगिताबाट बाहिर रहनु, र अनुशासनसम्बन्धी विवादहरूमा उनी संलग्न भएका थिए।
हाल सोहेल तनवीर पाकिस्तानमा घरेलु क्रिकेट खेलिरहेका छन् र विभिन्न टी–२० लिगहरूमा सहभागी भइरहेका छन्। उनले युवा खेलाडीहरूलाई बलिङ र अलराउन्डरको रूपमा प्रेरित गरिरहेका छन्।
उनलाई चितवन राइनोजले भित्राएर अन्य ७ फ्रेन्चाइजका लागि चुनौती थपेको छ। उनको आगमनसँगै एनपीएलमा अझ रोचकता र केही उचाई थपिएको छ।