नेभिगेशन
राजनीति

अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द हुँदा भाडादरले नेटो काट्यो, यस्तो छ विभिन्न देशको भाडादर

काठमाडौं– धावनमार्ग मर्मतका लागि करिब ५ महिनासम्म दैनिक १० घन्टासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि बन्द हुने भएको छ। 

धावनमार्गको मर्मतका लागि उक्त निर्णय गरिए पनि यसको परोक्ष असर भने विभिन्न देश पुग्ने यात्रुलाई पर्ने भएको छ। यसले भाडादरमा व्यापक बृद्धि गरेको छ। दोब्बर मात्र नभएर तेब्बरसम्म भाडादर कायम भएका छन्। 

१० देखि १५ हजार रुपैंयामा पुग्ने भारतको नयाँ दिल्लीको भाडा ४० हजार पुगेको छ।

ठूलो श्रम गन्तब्य रहेका खाडी देशका भाडादर पनि तेब्बरले बृद्धि भएका छन्। ३०–३५ हजारमा पुगिने कतारको भाडा ८० हजार रुपैंया पुगेको छ। 
यस्तै, ४५ हजारमा पुगिने कुवेतको १ लाख, ३५ हजारमा पुगिने मलेसियाको ६५ हजार, ४०–४५ हजारमा पुगिने साउदी अरबको भाडा ८० हजार पुगेको छ। 

३०–३५ हजारमा पुगिने दुबईको भाडा पनि ८० हजार पुगेको छ। यसले सबैभन्दा बढी असर श्रम गन्तव्यका लागि तयार भएर बसेका नेपाली कामदारलाई परेको छ। 

नेपालबाट श्रमका लागि मात्र दैनिक १७ सय भन्दा बढी नेपाली खाडी र अध्ययनलगायतका शिलशिलामा सोही हाराहारीमा युरोप, अमेरिकालगायतका मुलुकमा नेपाली पुग्ने गरेको बताइन्छ।  

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । 

यी काम पूरा गर्न रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ। स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन्। जुन समय अन्तर्राष्ट्रिय उडानका निम्ति ‘बिजी आवर’ मानिन्छ। 

हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो। उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख छ। 

विसं २०७७ मा सो विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो। त्यतिबेला पनि बेलुका ६ः०० देखि बिहान ६ः०० बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो। 

विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो। विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी