रवि लामिछानेलाई इजलासमा त्रसित बनाएको भन्नेप्रति कास्की प्रहरीको आपत्ति (विज्ञप्ति)
काठमाडौं– जिल्ला अदालत कास्कीको इजलासमा हतियारसहित प्रहरी अधिकारीले रवि लामिछानेलाई धम्क्याएको भनी आएका विषय भ्रामक रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले विज्ञप्ति जारी गरी रविका कानुनकर्मीले फैलाएको हल्लाप्रति आपत्ति जनाउँदै त्यसरी गलत सूचनाको भर नपर्नका लागि आग्रह गरेको छ।
प्रहरी अनुसन्धानमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायत आरोप प्रहरीले आपत्ति जनाएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक प्रेस विज्ञप्ति जारी गरेर भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
सूर्यदर्शन सहकारीको रकम ठगी, संगठित अपराधमा रविमाथि अनुसन्धान जारी छ। सो क्रममा रास्वपाले गरेको बिरोध सभामा रविका कानुनकर्मीले प्रहरीले त्रसित बनाएको बताएका थिए। सोही विषय अहिले सामाजिक सञ्जालमा प्रेषित र सम्प्रेषित छ।