नेभिगेशन
राजनीति
शक्तिशाली उत्तराधिकारी 

चुनावमा पराजित भएका तर एमालेभित्रका ‘डिफ्याक्टो अध्यक्ष’

काठमाडौं– नेकपा एमालेको १०औं महाधिवेशनपूर्व धेरैले महासचिव पदमा विष्णु पौडेलको सम्भावनाको आँकलन गरेका थिए। किनभने अध्यक्ष केपी शर्मा ओलीका नजिक रहेर काम गरेका पौडेल नै उत्तराधिकारी हुन् भन्ने लागेको थियो। 

कम्युनिस्ट पार्टीमा महासचिव पद निक्कै शक्तिशाली हुन्छ। यसैकारण दुई कार्यकालसम्म ईश्वर पोखरेलले उक्त पदमा आफूलाई उभ्याएका थिए। अझ भनौ, संगठनको सबै जिम्मा हेर्ने भएका कारणले पनि त्यसको प्रमुखका रुपमा महासचिव रहने गर्छ। 

अध्यक्ष प्रणाली नभएको कम्युनिस्ट पार्टीमा भने महासचिव नै प्रमुख हुने व्यवस्था पनि छ। तर, पौडेल उक्त पदमा आउन सक्ने सबैका अनुमान फेल खुवाउँदै अध्यक्ष ओलीले शंकर पोखरेललाई महासचिवमा निर्वाचित गराए। 

अन्य नेता सचिवमा नै चित्त बुझाउँदा पोखरेल ओलीका ‘डिफ्याक्टो अध्यक्ष’का रुपमा महासचिव पदमा आसिन हुन पुगे। दाङमा निर्वाचनमा रेखा शर्माले उनलाई पराजित गरेकी थिइन्। यदि निर्वाचनमा समेत जित निकालेका भए सम्भवतः अहिलेको सरकारमा पोखरेलको दबदबा अझ बलियो हुने थियो।

पोखरेल किन पनि शक्तिशाली छन् भन्ने विषयलाई एउटा घटनाले पनि पुष्टि गर्दछ। 

लुम्बिनी सरकारको मुख्यमन्त्री प्रकरण यसको ताजा उदाहरण हो। लुम्बिनी प्रदेशका एमाले संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउनुपर्ने भए पनि पोखरेलको जोडबलमा चेतनारायण आचार्यलाई मुख्यमन्त्री दिने निर्देशन भयो। गिरी पौडेल निकट हुन् भने आचार्य पोखरेल निकट भएका कारणले नै ओलीले पनि सहीछाप गरिदिए। 

गिरीले भने ओलीसमक्ष संसदीय दलको नेताबाट राजीनामा पत्र बुझाइसकेका छन्। 

यति मात्र होइन, पोखरेल शक्तिशाली हुनुका अन्य उदाहरण पनि छन्। नेपाली कांग्रेससँग एमालेको सत्ता समीकरणको सहमति होस् वा त्यसअघि कांग्रेसबाहेकको समीकरण बनेको होस् पोखरेल कहिँ न कहिँ नेपथ्यको मुख्य भूमिकामा रहेको पाइन्छन्। ओलीले पनि आफ्नो अनुपस्थितिमा पोखरेललाई नै विश्वास पात्रका रुपमा खटाउने गरेका छन्। 

अन्य नेता ओलीभन्दा निक्कै पर नभए पनि पोखरेल जति सन्निकट नभएको एमालेका एक नेताले बताए। ‘महासचिवमा ल्याउनु नै ओलीपछिको पार्टीको जिम्मेवारी सुम्पिने तयारी गर्नु हो’, ति नेता भन्छन्,‘अहिले पार्टीभित्र पनि अनेक निर्णयमा पोखरेलको प्रस्तावमा ओलीले आँखा चिम्लेर समर्थन गर्छन्।’

महासचिव पोखरेललाई ओलीले लुम्बिनीको मुख्यमन्त्री समेत बनाएका थिए। त्यसअघि आफ्नो क्याबिनेटमा प्रवक्तासहित सञ्चारमन्त्रीको पनि जिम्मेवारी दिनुले ओलीले कति विश्वास गर्छन् भन्ने प्रष्ट हुन्छ भने त्यहि विश्वासको आधारमा पोखरेलको शक्तिको आँकलन गर्न सकिन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति