नेभिगेशन
राजनीति
पुष्पलालको स्मृति दिवस

वीर शहीद गंगालालले भद्रगोल जेलमा माइला पुष्पलाललाई के भनेका थिए?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसमा विभिन्न कार्यक्रम भएका छन्। नेपालमा कम्युनिस्टको बिजारोपण गर्नमा पुष्पलालको देन असामान्य छ। 

उनले राजनीति सुरु गर्नुको पनि खास कारण रहेका थिए। परिवारका माइला छोरा पुष्पलाल प्रजातन्त्रका लागि लड्दा राणाबाट मारिएका गंगालाल श्रेष्ठका भाई थिए। 

गंगालालको आग्रहका आधारमा नै पुष्पलाल राजनीतिमा सक्रिय रहेको कतिपय संग्रहमा पाइने गरेको छ। 

पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं. रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको छोराका रूपमा भएको थियो।

पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बनेका थिए। 
वि.सं. १९९७ सालमा आफ्ना दाजु अमर शहीद गङ्गालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’ भनेका थिए। 

दाजुको यही शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको श्रोत बनेको बताइन्छ। 

वि.सं. १९९८ सालमा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरेका थिए। 

संघमा रहेका सदस्यले आ–आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम थियो। संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका सीपमूलकसमेत तालिम दिने गरेको थियो। 

भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दी जीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२मा भारत, पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गरे। 

२००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गरेका थिए। जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्ने घोषणा गरेका थिए। 

स्मरणीय छ, नेकपा एमालेको शीर्ष तहको नेत्री रहीसकेकी साहना प्रधान पुष्पलालकी पत्नी थिइन्। 

मार्क्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। 

२००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेटले उनको जीवनमा नयाँ मोड ल्यायो।

पुष्पलालले २०१६ सालमा सोभियत सङ्घमा सम्पन्न कम्युनिष्ट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिई सोही वर्ष चीनभ्रमण गरेका थिए। 

२०१७ साल पुष १ गते राजाबाट चालिएको कदम पछि भूमिगत र निर्वासित जीवन बिताउन बाध्य पुष्पलालले चारैतिर छरिएका कम्युनिष्टहरूलाई भेला गराई तेस्रो महाधिवेशन पनि गरेका थिए।

नेपाली कांग्रेस र कम्युनिष्टहरू मिलेर संघर्ष गरेमा मात्र नेपालबाट निरंकुश पञ्चायती समाप्त हुन सक्छ भन्ने भविष्यवाणी गर्ने नेता पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचार गराउँदा–गराउँदै निधन भएको थियो। 

पुष्पलालले देखेको सपना पूरा गर्ने लयमा कम्युनिस्ट नेता र पार्टी नलागे पनि उनको स्मृति दिवसचाहिँ मनाउने गर्छन्। संयोग यस्तो छ कि पुष्पलालको स्मृति दिवसको ठिक एक दिन अघि आइतबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दुई तिहाई बहुमतको विश्वास पाएका छन्, कांग्रेसको साथमा। 

अब उनले पुष्पलालले देखेको सपना पूरा गर्लान्?
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति