नेभिगेशन
समाज विविध

समानान्तर कमिटी बनाएका नितेश पौडेल युवा संघबाट निष्कासित

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले समानान्तर कमिटी बनाएको भन्दै सह-संयोजक नितेश पौडेलसहित तीन जनालाई निष्कासन गरेको छ ।

संयोजक कृष्णकुमार विश्वकर्माले सहसंयोजक पौडेल, कार्यालय सदस्यहरू रोशन थापा र फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेका छन् । संयोजक विश्वकर्माले मंगलबार प्रेस वक्तव्य जारी गरी समानान्तर कमिटी बनाएकाले संघको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् ।‘विधानको व्यवस्था भए अनुरूप सहसंयोजक क. नितेश पौडेल, कार्यालय सदस्यद्वय क. रोशन थापा र क. फुर्वा लामालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरिसकिएको छ र पार्टीलाई यसको जानकारी पठाइसकिएको छ’, वक्तव्यमा उल्लेख छ ।

गत शनिबार राजधानीमा गरिएको एक भेलाबाट पौडेल संयोजक र फुर्वा लामा सहसंयोजक घोषणा भएका थिए । संयोजक विश्वकर्माले महाधिवेशन नगरेको भन्दै पौडेल पक्षले समानान्तर कमिटी घोषणा गरेको थियो ।

पौडेल पार्टी अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन् भने विश्वकर्मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल निकट नेता हुन् । उनीहरुबीच युवा संघ नेपालमा पहिलेबाटै विवाद हुँदै आएको छ ।

गत वर्ष भदौमा समेत समानान्तर भेलाबाट नेतृत्व घोषणाको तयारी भएको थियो । पार्टी उपमहासचिव डा. विजय पौडेलको उपस्थितिमा भएको भेलाबाट कृष्ण विश्वकर्मालाई संयोजक तोक्ने तयारी भएपछि दीपक मनाङेको उपस्थितिमा भएको अर्को भेलाबाट नितेश पौडेललाई संयोजक तोक्ने तयारी भएको थियो ।

तर पार्टीले हस्तक्षेप गरी विश्वकर्मालाई संयोजक र पौडेललाई सहसंयोजक तोकेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध