फेरि ऐरी र रोहित चम्किनेछन्, विश्वबिजेता श्रीलंकालाई सजिलो छैन नेपालविरुद्ध फ्लोरिडाको पिच
काठमाडौं– यो टी–२० क्रिकेट विश्वकपको समय हो। र, समय हो नेपाल र नेपाली हौसिने।
भलै नेदरल्यान्डसँग नेपालले पहिलो खेलमा पराजय स्वीकार गर्नुपर्ने भयो। तर, १२ जुन नेपालको बिहानको समय ५ बजेर १५ मिनेटमा विश्वकपको पूर्वविजेत श्रीलंकाविरुद्ध नेपाल हाम फाल्दैछ।
हाम्रा राइनोहरू हिरो हुने समय पनि बन्ने सम्भावना प्रचुर छ। यदि श्रीलंकासँग नेपालले जित निकाल्यो भने विश्वबिजेता लिग चरणबाट नै घर फर्किन विवश हुनेछ। किनभने दुई खेल हारिसकेको छ।
ग्रुप अफ डेथ भए पनि अहिले विश्वकपमा असोचनिय नतिजा निस्किरहेका छन्। यसको कारण छ।
अमेरिकाका तीन ठाउँमा भइरहेको लिग चरणको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेल श्रीलंकाविरुद्ध चम्किने व्यापक अवसर छ। किनभने अमेरिकाको पिच नै त्यस्तो छ भने अब फ्लोरिडामा हुने खेल झनै रोचक हुनेछ। श्रीलंका हात धोएर मात्र होइन, पुरै नुहाएरै नेपालविरुद्ध उत्रिनेछ, साख जोगाउन। तर, सहज कहाँ छ र?
पहिलो त नेपाली दर्शकको उत्साहजनक उपस्थितिको अपेक्षा र हुटिङ र मुख्यचाहिँ फ्लोरिडामा पहिलो खेल हुँदैछ। स्टेडियम भर्खरै मर्मत सकिएको हो, यहाँ जस्तो सुकै नतिजा आउन सक्छ।
बीबीसी नेपाली न्यूजलाई मान्ने हो भने पनि यहि निचोडमा पुग्न सकिने अवस्था छ।
फ्लोरिडाको लाउडर हिलस्थित सेन्ट्रल ब्रोवर्ड क्रिकेट स्टेडियम नयाँ रङ्गशाला हो। सन् २००७ मा निर्माण गरिएको यो रङ्गशाला अमेरिकाको दोस्रो ठूलो क्रिकेट रङ्गशाला हो। यद्यपि २०,००० दर्शक अटाउन सक्ने यो रङ्गशाला विश्वकपका लागि पुनः तयार गरिएको थियो।
एक साताअघि फ्लोरिडामा आएको हावाहुरीका कारण रङ्गशालामा क्षति पुगेपछि तीन दिनअघि यसको मर्मत गरिएको थियो।
नेपाल र श्रीलङ्काबीच हुने विश्वकपको खेल नै यहाँ हुने पहिलो खेल हो। त्यसैले पिच कस्तो छ भन्ने अनुमान गर्न सक्ने अवस्था छैन। फेरि उक्त खेल राति हुने छ।
‘फ्रेश पिच’ बलिङ र ब्याटिङ गर्न कस्तो हुन्छ भन्न सकिँदैन। त्यसै पनि अमेरिकाको पिचको अन्तर्राष्ट्रिय रूपमै आलोचना भइरहेको छ।
न्यूयोर्कको रङ्गशालाको पिच अत्यन्त खराब देखिएको छ। त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नै ध्यानाकर्षण गराइसकेको छ।
न्यूयोर्कमा श्रीलङ्काको टोली ७७ रनमा नै आउट हुन पुगेको थियो।
श्रीलङ्काले ड्यालसमा भएको आफ्नो दोस्रो खेलमा बाङ्ग्लादेशसँग दुई विकेटको हार बेहो¥यो। अहिलेसम्म उक्त पूर्वविश्वकप विजेता टोलीका अङ्कविहीन छ। नेपालसँगको खेलमा उसको प्रतिष्ठा दाउमा हुने छ।
दश वर्षपछि टी-२० विश्वकप क्रिकेट खेलिरहेको नेपाल बलिया राष्ट्रहरूलाई टक्कर दिएर क्रिकेटमा आफ्नो छाप छाड्ने प्रयासमा हुने छ।
अनुभवी टेस्ट राष्ट्रसँग खेल्दा नौलो पिच नेपाली खेलाडीहरूको लागि फाइदा हुन सक्ने कतिपयको अनुमान छ।
पछिल्ला दिनमा असोसिएट राष्ट्रले देखाएको कुशल प्रदर्शनपछि धेरै क्रिकेटविज्ञहरूको ध्यान अमेरिकामा केन्द्रित भइरहेको छ।
अमेरिकाले दाबेदार मानिएको पाकिस्तानलाई पहिलो खेलमा नै पराजित ग¥यो। अन्तर्राष्ट्रिय क्रिकेटमा यो नतिजाले धेरै चर्चा पाइरहेको भोलिपल्टै क्यानडाले पनि आयरल्यान्ड्सलाई पराजित ग¥यो।
अमेरिका र क्यानडापछि अन्तर्राष्ट्रिय क्रिकेटले नेपालबाट त्यस्तै परिणाम आउने सम्भावना देखेको छ।
नेपाली टोलीका प्रबन्धक दिवाकर घले भन्छन्, “अहिले जस्तो नतिजा निस्किन थालेको छ त्यो असोसिएट राष्ट्रहरूका लागि खुसीको कुरा हो। विश्वकपमा असोसिएटको संख्या थप्ने निर्णय सही हो भन्ने यसले देखाएको छ।”
उनले नेपाली खेलाडीहरूमा यसले सकारात्मक ऊर्जा थपेको बताउँदै भने, “पहिलो खेलको हारले टोलीको मनोबलमा केही असर परेको छैन। बरु अहिले असोसिएट राष्ट्रले ल्याइरहेको नतिजाले खेलाडीहरूमा ऊर्जा थपिएको मैले पाएँ।”
सिनियर राष्ट्रिय टोलीले श्रीलङ्कासँग खेल्न लागेको यो पहिलो पटक हो।
यू–१९ राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पृथु बास्कोटा नेपालले पनि विश्वकपमा अप्रत्याशित नतिजा ल्याउने ल्याकत राख्ने ठान्छन्।
ड्यालसमा मैदानमा पुगेर खेल हेरेका उनले भने, “नेपाललाई अब खेल्ने बाँकी ३ टेस्ट राष्ट्रसँग खेल्न कुनै दबाब रहनेछैन। स्वतन्त्र भएर खेलेमा खेलाडीहरूले राम्रो नतिजा दिने मलाई विश्वास छ।”
उनको सुझाव छ, “नहतारिईकन पिचको स्वभाव बुझेर खेल्न सके हाम्रा खेलाडीहरू अरू कोही भन्दा कम हुने छैन।”
विश्वकप जुन १ बाट सुरु भएको हो।
नेपालले जुन ४ मा आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग ड्यालसमा खेलेको थियो।
नेपालले दोस्रो खेल श्रीलङ्कासँग फ्लोरिडामा जुन १२ मा खेल्दै छ। त्यहाँबाट टोली वेस्ट इन्डिजतिर लाग्ने छ।
वेस्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिकासँग र जुन १७ मा बाङ्ग्लादेशसँग लीगको आफ्नो अन्तिम खेल खेल्ने छ।
नेपाली लेगस्पिनर तथा पूर्वकप्तान सन्दीप लामिछानेले संयुक्त राज्य अमेरिकाको प्रवेशाज्ञा नपाएकाले उनी त्यहाँ हुने खेलमा सहभागी हुन वञ्चित भए। तर वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुन उनी त्यहाँ पुगिसकेका छन्।
नेपाललाई अर्को सुविधा के भयो भने ८ दिनपछि उसले दोस्रो खेल खेल्दैछ। यसबीचमा विभिन्न देशका खेलको तौर तरिका अनुगमन गर्ने, रणनीति बनाउनका लागि सहज भएको छ।
श्रीलंकाका दुवै खेलको उसले राम्रो अध्ययन गर्न पाएका कारण खेलाडी चम्किने आधार बलियो बनेको हो। अहिलेसम्म ओपनर कुशल भुर्तेल र आशिफ सेख चम्किन सकेका छैनन्। श्रीलंकाविरुद्ध यी दुई खेलाडी लामो समय टिकेको खण्डमा कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरी चम्किन सक्नेछन्।
साथमा गुल्शन झा, करण केसीले पनि राम्रो नतिजा दिन सक्ने अनुमान गरिन्छ। कारण त्यहि अनुभव नसमेटिएको पिचमा उत्रिनु हो।
अब राइनोहरुले कस्तो नतिजा दिनेछन् त्यो खेलमा देख्न पाइने छ। तर, आशा मार्नु हुँदैन, खेलाडीप्रतिको भरोसा टुट्न हुँदैन। त्यसपछि त सन्दीप पनि खेल्न पाउनेछन् त्यो सुनमा सुगन्ध हुनेछ।