सहकारी ठगीः कांग्रेस संसदीय दल बैठकमा रविको नाम रहेको प्रहरी प्रतिवेदन शेरबहादुरले बाँडिदिए

शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगीबारे रुपन्देही प्रहरीले तयार पारेको प्रतिवेदन नेपाली कांग्रेसको संसदीय दलको बैठकमा बाँडिएको छ। 

सभापति शेरबहादुर देउवाले रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेको नाम समेत उल्लेख गरिएको प्रतिवेदन बैठकमा बाँड्न लगाई सांसदको धारणा माग गरेका थिए।

प्रहरी अनुसन्धानका आधारमा रुपन्देही सरकारी वकिलको कार्यालयले यही वैशाख ३ गते अदालतमा दर्ता गरेको अभियोजनपत्रमा लामिछानेले प्रक्रिया पूरा नगरी कर्जा लिएको उल्लेख छ।

यहि विषयका सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा धारणा राख्न कांग्रेसका सांसदलाई भनिएको छ। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रुपन्देही प्रहरी अनुसन्धान प्रतिवेदनको विवरणका आधारमा नाम उल्लेख भएकामाथि सहकारी ऐन र फौजदारी संहिता आकर्षित हुने बताएका थिए। 

पोखराको सूर्यदर्शन मात्र नभई अब सुप्रिम सहकारी ठगीको विषयमा पनि कांग्रेसले रवि लामिछानेविरुद्ध सदनमा कडा प्रश्न उठाउने भएको छ। यसअघि कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको थियो। उक्त माग कायम नै रहेको कांग्रेस नेता बताउँछन्।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्