स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीद्धारा विरोध प्रदर्शन

शनिबार, वैशाख १५, २०८१

काठमाडौँ- पुँजी बजार सङ्घर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । 

शनिबार काठमाडौँको माईतीघरमा सङ्घर्ष समितिले सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न खोजको तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै आन्दोलन गरेको हो । आन्दोलनमा सहभागीहरुले ‘हामी लगानीकर्ता हौँ, भिखारी होइनौँ’,‘मैलिक हक अधिकारको सुरक्षा गर’,‘लगानी क्याम्प खारेज गर’, ‘लगानीकर्तालाई विदेश पलायन गर्ने कार्य बन्द गर’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् । 

कार्यक्रममा पुँजीबजार सङ्घर्ष समितिका संयोजक तिलक कोइरालाले सरकारले पहिले लगानी सम्मेलन गरिसकेको भएपनि केही उपलब्धी हासिल गर्न नसकेको आरोप लगाए ।

स्वदेशी लगानीकर्ताले उठाएका मागहरु तत्काल सुनुवाइ गरी लगानीको वातावरण बनाएमा नेपाली लगानीकर्ताले पनि राम्रोसँग लगानी गरी देशलाई धनी बनाउन सक्ने उनको दाबी छ । 

सरकारले तेस्रो लगानी सम्मेलन यही वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना गर्दै छ । सम्मेलनमा १ सय ५१ परियोजनाहरू प्रस्तुत गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्