कतारका अमिरको नेपाल भ्रमण

खेलप्रेमी कतारका राजाको गज्जब कहानी, यसरी सिंहासनमा पुगेका थिए अल थानी

मंगलबार, वैशाख ११, २०८१

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा मंगलबार काठमाडौं उत्रिने कतारका राजा शेख तमिम बिन हमाद अल थानी रोचक ढंगले सिंहासनमा पुगेका उत्तराधिकारी हुन्।  

अल थानी पूर्वअमिर हमाद बिन खलिफा अल थानीका चौथो छोरा हुन्। हमादकी दोस्री पत्नी मोजा बिन्त नासिरबाट जन्मेका थिए। 

अल थानी सन् २००३मा उत्तराधिकारीका लागि योग्य भए जब उनका जेठा दाई शेख जसिमले सिंहासनमा आफ्नो दाबी त्यागे। २५ जुन सन् २०१३ मा उनका पिताले गद्दी त्यागेपछि अल थानी राजा बनेका थिए। 

विवाहित अल थानीका १२ सन्तान छन्। 

अल थानीले कतारमा शासन गर्छन्। उनीसँग कतारका सबै कार्यकारी र विधायी अधिकार छ। उनी २०२२ फिफा विश्व कप जस्ता खेलकुद कार्यक्रमहरू आयोजना गरेर कतारको अन्तर्राष्ट्रिय पहिचान उचाल्ने राजा हुन्। खेलमा रुची भएकै कारण उनले फ्रान्सको निक्कै महँगो घरेलु क्लव पेरिस सेन्ट जर्मन अर्थात पिएसजी खरिद गरेका छन्। 

अल थानीको जन्म ३ जुन १९८० मा कतारको दोहामा भएको थियो। उनी शेख हमाद बिन खलिफा अल थानीको चौथो छोरा हुन्। शेख मोजा बिन्त नासेर अल–मिस्नेद, हमादको दोस्रो पत्नीको दोस्रो छोरा हुन्। 

अल थानीले ग्रेट ब्रिटेनको शेरबोर्न स्कूल (अन्तर्राष्ट्रिय कलेज) डोर्सेट र ह्यारो स्कूलमा पढेका थिए, जहाँ उनले सन् १९९७ मा आफ्नो ए–लेभल पूरा गरे। त्यसपछि उनले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टमा सन् १९८८ मा स्नातक गरे।

अल थानीलाई स्यान्डहर्स्टबाट स्नातक गरेपछि कतार सशस्त्र बलमा दोस्रो लेफ्टिनेन्टको रूपमा नियुक्त गरिएको थियो। त्यसबेलादेखि उनी शीर्ष सुरक्षा र अर्थशास्त्र पदहरूमा काम गर्दै, शासन लिन तयार थिए। 

ob_1713704264-1713850125.jpg

सन् २००५ मा उनले पेरिस सेन्ट–जर्मेन एफसीको स्वामित्वमा रहेको ओरिक्स कतार स्पोर्ट्स इन्भेस्टमेन्ट स्थापना गरे। २००६ मा उनले दोहामा भएको १५ औं एसियाली खेलकुदको आयोजक समितिको अध्यक्षता गरेका थिए। उनको नेतृत्वमा, सबै सदस्य राष्ट्रहरूले यसको इतिहासमा पहिलो पटक कार्यक्रममा भाग लिए। त्यस वर्ष इजिप्टका अल अहरामले अल थानीलाई “अरब विश्वको उत्कृष्ट खेलकुद व्यक्तित्व’’ भनेका थिए। 

कतारले २०१४ मा  फिना पौडी विश्व च्याम्पियनसिप र २०२२ मा  फिफा विश्वकप फूटबलको आयोजना गरेको थियो। त्यसअघि सन् २०२० को ओलम्पिक नै गराउने दाबी पेश गरे पनि ओलम्पिक कमिटीले स्वीकृति दिएको थिएन।

नेपालमा रहँदा उनको सुरक्षा बलियो पारिएको छ। सार्वजनिक विदा दिएर नेपालमा स्वागत गरिएका अल थानीको सुरक्षा प्रबन्धको जिम्मेवारी नेपाली सेनाको कमान्डले गरेको छ। 

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७मा व्यवस्था भए बमोजिम सेनाको नेतृत्वमा कतारका राजालाई क श्रेणीको सुरक्षा दिइएको हो। यसअघि यस्तो सुरक्षा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिइएको थियो। 

विशिष्ट व्यक्तिको क्लोज सेक्युरिटीमा सेनाको पाश्ववर्ती र अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट टोली खटिनेछ। यसबाहेक नेपाल प्रहरीका उच्च अधिकारीसहितको सुरक्षा टोली र सशस्त्र प्रहरी अनि राष्ट्रिय अनुसन्धान विभागका अधिकारी खटाइने छ। 

प्रहरीबाट उनको सवारीका बेला उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा आफैं खटिनेछन् भने सशस्त्र प्रहरी बलले उपत्यका हेर्ने पशुपतिप्रसाद बाहिनीका प्रमुख डीआईजी पुरुषोत्तम थापालाई खटाउँदैछ। 

सेनाले भावी प्रधानसेनापतिको रोलक्रममा रहेका बलाधिकृत रथी अशोकराज सिग्देलको नेतृत्वमा एकीकृत सुरक्षा समन्वय समिति समेत गठन गरेको छ। सिग्देल नेतृत्वको समितिको मातहत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग रहेको उपसमिति समेत गठन गरिएको छ।

नेपालस्थित कतारको राजदूतावासले पनि छुट्टै सुरक्षा टोली परिचालन गरेको छ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार