पार्टीमा हुँदा नैतिक आचरणमा कारबाही गरिएका सोडारीलाई सुदूरपश्चिम मुख्यमन्त्रीमा एमालेको समर्थन

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं– सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई एमालेले समर्थन गर्ने भएको छ। 

हाल नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता रहेका उनलाई मुख्यमन्त्रीमा एमालेको समर्थन हुने भएको हो। 

०७४ को निर्वाचनमा एमालेबाट नै प्रदेश सरकारमा सामाजिक मन्त्री रहेका उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीमा गएका थिए।

मन्त्री रहेका बेला उनलाई नैतिक आचरणको अभियोग लगाएर एमालेले कारबाही मात्र गरेको थिएन, मन्त्री पदबाट राजीनामा समेत गराएको थियो। 

लामो समयसम्म निलम्बनमा राखिएका उनी विभाजनपछि एकीकृत समाजवादीमा गएका थिए। एक महिलासँगको अनैतिक सम्बन्धको अडिओ एमाले अध्यक्ष केपी शर्मा ओलीकहाँ पुगेपछि सोडारी कारबाहीमा परेका थिए। 

उनकी पत्नी गीताले ति महिलालाई गाली गरेकोदेखि धम्क्याएको अडिओ रेकर्ड एमाले मुख्यालयबाहेक क्यानडा नेपालसँग अहिले पनि सुरक्षित रहेको छ।

सोडारीलाई एमालेले सहयोग नगरे कांग्रेसको समर्थन हुने भएपछि समर्थन गरिन लागिएको हो। सुदूरपश्चिममा यसअघि नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएको थियो।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्