चित्रकलाको माध्यमबाट सुन्दरता अभिवृद्धि गर्दै कामपा

शनिबार, वैशाख १, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम सुरु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कामपाले सार्वजनिक स्थानका पर्खालमा कलात्मक चित्र लेखनको काम थालेको हो । उक्त कार्यका लागि कामपा र प्रतिष्ठानबीच २०८० फागुन १७ गते सम्झौता भएको थियो ।

सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित सङ्घसंस्थाको छनोट प्रतिष्ठान आफैँले गरेको हो । अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने काम भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्तो, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर, मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ता चित्र कोरिने कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो । 

उहाँका अनुसार चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा वेशभूषा विम्बित हुने चित्र कोरिनेछन् ।

मौलिकताका लागि कोरिने चित्रहरूमा इन्द्रजात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, वेशभूषा, बादन, काठमाडौँ चिनिने भौतिक सम्पदा हुने उहाँले भन्नुभयो । यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ । 

चित्र भएका भित्तामा नछुने, कुनै रङ नछर्किने, पोष्टर वा कागज नटाँस्ने, चित्रसँग तस्वीर खिच्दा नटाँसिइ अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट अपेक्षा गरेको उहाँले बताउनुभयो । 

यसरी कोरिएका चित्रसँग सम्बन्धित जीवन्त संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महानगरपालिकाले काम गरिरहेको छ । यी चित्रले काठमाडौँलाई चिनाउँछन् । यसले काठमाडौँका सम्पदाको भव्यता प्रदर्शन गर्ने कामपाको विश्वास छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २०:१७
प्रतिक्रिया दिनुहोस्