नेभिगेशन
समाज विविध

चितवनको सिमलताल बस दुर्घटनाको वर्ष दिनः ४० यात्रुको अवस्था अझै अज्ञात

भरतपुर -नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलताल नजिक दुई वटा बस लेदोमा बग्दै त्रिशुली नदीमा बेपत्ता भएको शनिबार वर्ष दिन हुँदैछ । दुईवटै बसमा गरी ६२ यात्रुमध्ये एउटा बसका तीन जना मात्रै सकुशल भेटिएका थिए । बससँगै बगेकामध्ये १९ जनाको शव भेटिएर सनाखत भए पनि अन्य ४० यात्रु र दुवै बस नदीमा बेपत्ता भए ।

गत वर्षको असार २८ गते शुक्रबार बिहानपख साढे ३ बजेतिर काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल नामको यात्रुबस नारायणगढदेखि करिब २३ किलोमिटर पूर्वोत्तर सिमलताल सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । बस त्रिशूलीमै पुगे पनि एञ्जल बसका तीन जना यात्रुले आफै पौडिएर ज्यान जोगाएका थिए । दुवै बसमा गरेर ६२ जना रहेका थिए । तीन जनाबाहेक अन्य यात्रु र दुई वटा बस त्रिशूलीमा बेपत्ता भए । खोजी टोलीले घटनास्थलदेखि लगभग १०३ किलोमिटर तल नारायणी नदी तट र त्रिवेणी बाँध क्षेत्रबाट २४ वटा शव फेला पारेको थियो । तीमध्ये १९ वटा शव मात्रै पहिरोमा परेको बसका यात्रुको भएको पुष्टि भएको थियो ।

परिवारले सनाखत गरेका ती १९ शवमध्ये तीन महिला र १६ पुरुष छन् । एउटा बसमा सात र अर्कोमा दुई गरेर नौ जना भारतीय नागरिक पनि बससँगै नदीमा बेपत्ता भएका थिए । जसमध्ये पाँच जना भारतीयको शव फेला परेको छ । सकुशल रहेका तीन र शव भेटिएर सनाखत भएका १९ जनाबाहेक बाँकी ४० यात्रुको अवस्था अज्ञात छ ।

बस खोज्न भारतीय प्राविधिक टोली पनि गत वर्ष साउन ६ गतेदेखि एक सातासम्म त्रिशूली र नारायणी नदीमा खटेको थियो । भारतीय टोलीले पनि बस र अन्य शव भेटाउन सकेन । त्रिशूली नदीको उर्लँदो भेल र उच्च बहावले खोजी कार्यमा बाधा दिएको भारतीय प्राविधिकहरूले बताएका थिए । भारतीय फर्के पनि घटना भएको एक महिनासम्म सशस्त्र प्रहरीले खोजी कार्य जारी नै राखेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध