स्वर्णिम वाग्लेको प्रस्ताव हुनसक्छ ‘ब्याक फायर’, कांग्रेस महामन्त्री गगन थापाले भनिदिए– गरौं, गरौं

सोमबार, चैत २६, २०८०

काठमाडौं– सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि छानबिनका लागि नेपाली कांग्रेसले माग संसदीय छानबिन समितिबारे स्वर्णिम वाग्लेले गरेको ‘नयाँ प्रस्ताव’ ब्याक फायर हुन सक्ने देखिएको छ।

प्रतिनिधि सभामा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उक्त माग राखी अन्तिम अल्टिमेटम दिएपछि पछिल्लो बैठकमा रास्वपा उपसभापति समेत रहेका वाग्लेले ‘आरोप लाग्नासाथ छानबिन गर्ने भए सबैका हकमा यहि काम गरौं’ भन्ने प्रस्ताव गरेका थिए। 

यस प्रस्तावमा कांग्रेसका अर्का महामन्त्री गगनकुमार थापाले सकारात्मक चासो देखाएका छन्। उनले एउटा अन्तरवार्तामा भनेका छन्,‘त्यसो हो भने गरौं, गरौं। गरौं न।’

पहिला सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन गरेर त्यसपछि कस्तो अवस्थामा गर्न सकिन्छ भन्ने छलफल गरेर अगाडि बढ्न सकिन्छ भन्दै थापा जोड्छन्,‘यस विषयमा छलफल गरेर कार्यविधि बनाएर गरौं। एउटा सहमति गरौं।’

थापाको यो स्वीकारोक्तिले वाग्लेको प्रस्तावमा ब्याक फायर हुन सक्ने सम्भावना रहेको छ। किनभने सहकारी प्रकरणमा लामिछानेसहित सोही दलका उपसभापति तथा श्रममन्त्री डोरप्रसाद अर्याल डीपी र सह–महामन्त्री कविन्द्र बुर्लाकोटी जोडिएको हाम्रो नयाँ कृषि सहकारी ठगीको विषय पनि सतहमा आएको छ। 

वाग्लेको प्रस्ताव कांग्रेसले मान्ने स्थितिमा संसदीय छानबिन समिति गठनमा अन्य दलको बिमति हुने स्थिति छैन। 

स्मरण होस्, २०७९ को निर्वाचनअघि महामन्त्री थापाको चुनावी प्रचारमा वाग्ले सक्रिय रहेका थिए भने कांग्रेस घोषणापत्र तयार समितिका एक विज्ञ सदस्य पनि रहेका थिए। कतिपयले उनी गगन थपा र अर्का नेता प्रदीप पौडेलसँग नजिक रहेको पनि बताउँछन्।
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्