रवि लामिछानेलाई अर्को धक्काः संसदीय छानबिन समितिको बटमलाइन बोकेर जाँदैछन् देउवा

सोमबार, चैत २६, २०८०

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको यस कार्यकालमा अर्को धक्का दिन नेपाली कांग्रेसले बटमलाइन तयार पारेको छ। 

कांग्रेसको बर्तमान तथा पूर्वपदाधिकारीसहितको सोमबारको बैठकले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बटमलाइन बनाउने निर्णय गरेको हो। 

मंगलबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठकमा समिति लिएर मात्र आउनका लागि कांग्रेसले सरकारलाई अल्टिमेटम दिएको थियो। उक्त विषयको जानकारी सभामुख देवराज घिमिरेले सोमबार नै डाकेको चार मुख्य दलका शीर्ष नेताको बैठकमा सभापति शेरबहादुर देउवाले जानकारी गराउने कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए। 

‘संसदीय समितिको क्षेत्राधिकारलगायतका विषयमा कुराकानी र सहमति गर्न हामी विकल्प दिँदै अनिवार्य समिति बन्नुपर्ने बटमलाइनमा छौं’, थापाले भनेका छन्,‘सभापतिजी त्यहि जानकारी लिएर सभामुखले डाक्नुभएको बैठकमा जानुहुनेछ।’

देउवासहित कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक बैठकमा सहभागी हुनेछन्। बैठक बिहानबाट सरेर २ः३०का लागि तोकिएको छ।
 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार