सहकारी ठगी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन विवकेशील साझाको माग

आइतबार, चैत २५, २०८०

काठमाडौं– विवेकशील साझा पार्टीले सहकारी ठगी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनका लागि माग गरेको छ।
प्रवक्ता आशुतोष प्रधानले विज्ञप्तिमार्फत पार्टीको धारणा सार्वजनिक गरेका हुन्। 

‘बहालवाला मन्त्रीहरुदेखि राजकीय पदमा आसिन वर्तमान तथा पूर्व पदाधिकारीहरु समेत सामेल विभिन्न सहकारी ठगी प्रकरणमा हजारौँ सर्वसाधारणको अरर्बोँ रकम अपचलन हुँदा पनि सरकार मौन रहेकोप्रति विवेकशील साझा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ’, प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘विवेकशील साझा पार्टी सहकारी ठगी प्रकरणमा संलग्नहरुलाई  छानविनका लागि उच्च स्तरीय आयोग गठन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न र पिडीतलाई राहत तथा परिपूरणको ब्यवस्था गर्न सरकारसंग जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

सरकारमा संलग्न मन्त्रीहरु, पूर्व मन्त्रीहरु, विभिन्न दलका नेताहरुको मिलेमतो र सेटिङमा सर्वसाधारणको अरबोैँ रुपैयाँ अपचलन हुनु र पिडीतको विल्लिबाँठ हुँदा पनि सरकारले प्रभावकारी छानविन गरी दोषीलाई कारवाही नगर्नु जनमतको अवहेलना र पिडीतप्रति अचाक्ली ज्यादती भएको विवेकशील साझा पार्टीले ठहर गरेको छ। 

सरकारमै रहेका कतिपय आरोपित मन्त्रीहरुले सत्ताको दुरुपयोग गर्दै दलीय दादागिरीको जगमा छानबिनलाईनै स्याबोटेज गरिरहेको भन्ने सरोकारवाला र सहकारी पिडीतहरुको भनाईलाई वेवास्ता नगर्न विवेकशील साझा पार्टी प्रधानमन्त्रीलाई विशेष ध्यानाकर्षण गराउने विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्