फोहर फाल्न अवरोध गर्ने क्रममा नियन्त्रणमा लिइएकाहरु रिहा

शनिबार, चैत २४, २०८०

काठमाडौँ -  फोहोर फाल्न अवरोध गर्ने क्रममा आज विहान पक्राउ परेका १३ जना रिहा भएका छन् । 
    
    बञ्चरेडाँडामा फोहर विसर्जन गर्न अवरोध गरेपछि प्रहरीले उनीहरुलाई  पक्राउ गरेको र अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “आज बिहान फोहर बोकेर गएका टिपरलाई रोकपछि बञ्चरेडाँडाबाट उनीहरुलाई नियन्त्रणमा लिएको र अहिले सबैलाई छाडिएको छ ।” काठमाडौँबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी दिनभरि प्रहरी वृत्त बालाजुमा राखेको थियो ।

    ‘बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ) ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको थियो ।

    समितिले गत फागुन २१ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ११ बुँदे माग पेस गरेको थियो । ती माग सम्बोधन नगरिएको भन्दै समितिले आज बिहानैदेखि फोहर बिसर्जनस्थल नुवाकोटको सिसडोलस्थित कुडुल्ले र धादिङको बञ्चरेडाँडा पुग्ने सडक अवरुद्ध  पारेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २१:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार