नयाँ वर्ष पार्टी पुनःजागरणको वर्ष हुनेछः महामन्त्री थापा

शनिबार, चैत २४, २०८०

ललितपुर - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षलाई पार्टी पुनःजागरणको वर्ष बनाउँदै सुशासनप्रति प्रतिबद्ध रहने उल्लेख गर्नुभएको छ ।

नववर्ष २०८१ का अवसरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नं २ द्वारा आज महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले आम नागरिकमा रहेको राजनीतिप्रतिको वितृष्णालाई चिर्दै भरोसा दिलाउन लागिपर्ने धारणा राख्नुभयो । 

“हामी आफूसँग भएको कुरामा खुसी हुन सक्नुपर्छ । इमानदारीपूर्वक काम गर्नुपर्छ, परिणाम र भविष्यका विषयमा धेरै चिन्ता लिन नहुनेरहेछ”, उहाँले भन्नुभयो, “खुला समाज, निजी क्षेत्रको विकास र नागरिकलाई समृद्ध बनाउने कुरामा विश्वास गर्छाैँ ।” 

उहाँले सुशासनप्रति प्रतिबद्ध रहँदै  नागरिकलाई भरोसाको प्रत्याभूति दिने पनि बताउनुभयो । “यो वर्ष सत्तामा आँखा लगाउँदैनौँ, जनताको समस्या समाधानका लागि पार्टीलाई बलियो बनाउन लागिपर्छाैँ, राजनीतिप्रतिको वितृष्णालाई चिर्दै भरोसा दिलाउन लागि पर्छौँ”, महामन्त्री थापाले भन्नुभयो ।

पुनःजागरणका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरण हुनुपर्छ भन्नुहुँदै उहाँले विसं २०८२ को महाधिवेशन सम्पन्न गर्न वडा सभापति, क्षेत्रीय सभापति र जिल्ला सभापतिको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभएको छ ।

उहाँले पार्टीमा सबैले जिम्मेवारी पूरा गर्नुपर्ने र नेता तथा कार्यकर्तामा विचार र व्यवहारको शुद्धीकरण हुनुपर्नेमा जोड दिनुभयो । बाध्यतावश विदेशमा काम गर्न गएकाहरूलाई गौरव गर्न सक्ने र भरोसा दिनेगरी काम गर्न सक्नुपर्छ भन्नुहुँदै उहाँले राजनीतिक नेतृत्वले समस्याको समाधान दिनुपर्ने बताउनुभयो । नागरिकले राजनीतिकर्मीबाट पारदर्शिता र शुद्धता खोजेको छ भन्नुहुँदै उहाँले सांसद, मेयर, वडाध्क्ष निष्कलङ्क हुनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

पार्टीभित्र क्रियाशील सदस्य बन्न खुला वातावरण बनाउनुपर्ने बताउनुहुँदै जिम्मेवारी र पदमा आउनका लागि निश्चित मापदण्ड तयार गर्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री थापाले नेतृत्व चयन प्रक्रियालाई परिवर्तन गर्दै गुटबन्दीको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो । 

कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्द पोखरेलले विपीको आदर्श अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो । “हामीहरु विदेशी सीप, ज्ञान ल्याएर नेपाललाई समृद्ध बनाउन सक्छौँ । राजनीति भनेको जहिले पनि विचार र दर्शनमा आधारित हुन्छ, दर्शन र विचार नै बलियो नभएका पार्टीहरूसँग अल्मलिएर कांग्रेसले समय खेर फाल्नु हुँदैन”, प्रा डा पोखरेलले भन्नुभयो ।

गालीगलौजको भरमा भोट हाल्ने संस्कृति बदल्नुपर्छ भन्नुहुँदै उहाँले जनप्रतिनिधि समाजसेवा गर्न गएको प्रतिनिधि भएको बताउनुभयो । 

कांग्रेसले ल्याएको नीतिले २०४८ देखि २०५१ सम्म विकासका गतिविधि तीव्र रूपमा बढेको स्मरण गर्नुभयो । “क्षमता हासिल गर्न विदेश जाँदा दुःख मान्नुपर्दैन, तर बाध्यताले विदेशिएकाप्रति भने हामी संवेदनशील हुनुपर्छ”, उहाँले भन्नुभयो । 

कांग्रेस बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जनले जनतामा उत्साह जगाउने काममा केन्द्रीय तहदेखि स्थानीयस्तरसम्म पार्टी नेतृत्व र कार्यसमितिले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले २०८२ सालमा महाधिवेशन हुने वातावरण तयार गर्नु आवश्यक रहेको बताउनुहुँदै समयमा महाधिवेशन भएन भने २०८४ सालको निर्वाचनमा सफल हुन कठिन हुने धारणा राख्नुभयो ।

कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले वर्ष २०८१ लाई ललितपुरमा प्रशिक्षण वर्षका रूपमा सङ्गठन परिचालन गर्ने बताउनुहुँदै पार्टीले आवश्यकतानुसारको प्रशिक्षण दिने बताउनुभयो । उहाँले अधिवेशनको समयमा भएको मतभेद, मनभेद र कमजोरीलाई लामो समयसम्म लिएर राख्नुहुँदैन भन्नुहुँदै विगतको तिक्ततालाई प्रतिशोधको भावनाले भन्दा पनि सहकार्य गर्दै एकताको भावना लिएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन, ललितपुर क्षेत्र नं १ का सभापति सुन्दरमान थिङ, क्षेत्र नं २ का सभापति महेश खड्कालगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्