स्थानीय र व्यवसायीको समस्या समाधान गरेर ठमेल र दरबारमार्ग चौबीसै घण्टा खोल्छौँ : गृहमन्त्री लामिछाने

शुक्रबार, चैत २३, २०८०

काठमाडौँ - उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीयवासी र व्यवसायीको समस्या समाधान गरेर ठमेल तथा दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने बताउनुभएको छ ।

गृहमन्त्री लामिछानेले आज मन्त्रालयमा आयोजना गर्नुभएको सरोकारवाला निकायसँगको छलफलमा सरकारले स्थानीय घरधनी र व्यवसायीको समस्या समाधान गरेर मात्र ठमेल चौबीसै घण्टा सञ्चालन गर्ने बताउनुभयो । उहाँले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई समेत समाधान हुनेगरी सरकारले काम गर्ने उल्लेख गर्नुभयो । स्थानीय घरधनीको अधिकार सुरक्षित हुनेगरी मात्र सरकार अगाडि बढ्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्र अनौपचारिक रूपमा चल्नु र औपचारिक रूपमा चल्नु धेरै फरक हुने उल्लेख गर्नुभयो । उहाँले ठमेल र दरबारमार्ग २४सै घण्टा खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गबाट हुने स्पष्ट पार्नुभयो । ठमेल पूर्ण रूपमा व्यावसायिक क्षेत्र नभएकाले त्यहाँ स्थायी रूपमा बसोबास गर्नेको हक, अधिकारलाई मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने गृहमन्त्री लामिछानेले विश्वास व्यक्त गर्नुभयो । सरकारले व्यवसाय जोेगाउनका लागि उक्त कदम चालेको उहाँको भनाइ थियो ।

गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्ग २४सै घण्टा सञ्चालनमा आएपछि व्यवसायीकहाँ गएर खाना नखान प्रहरी प्रशासनलाई निर्देशन दिनुभयो । उहाँले ठमेललगायत देशभर भइरहेका गुण्डागर्दी रोक्ने योजनाअनुरुप गृह मन्त्रालयले ‘एक्सन प्लान’ बनाइरहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्