नेभिगेशन
समाचार

सत्ता र कुर्सीले भत्किन लाग्यो पति–पत्नी सम्बन्ध, नाउपाले पाएको जनताको मतमा रेशम–रञ्जिताले गरे षडयन्त्र

काठमाडौं– सत्ता र कुर्सीको स्वार्थका कारण नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गत निर्वाचनमा पाएको जनमतमा त्यसका परिकल्पनाकार रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले षडयन्त्र गरेका छन्। यो षडयन्त्रको खेलले जनमतको अवमूल्यन मात्र भएको छैन, रेशम–रञ्जिताको दाम्पत्य जीवन पनि भत्किने खतरामा पुगेको छ।

केन्द्रीय सत्ता समीकरण भत्किएसँगै नाउपाले पाएको जनमत कता ढल्किने भन्ने विषयमा रेशम–रञ्जिताको विवाद छारष्ट भइसकेको छ। रेशम नेपाली कांग्रेससहितका विपक्षीको कित्तामा उभिन चहान्छन् भने रञ्जिता सत्ता गठबन्धनको पक्षमा उभिएर सरकारमा सहभागी हुन चहान्छिन्। 

यो विवादको शिलशिला ज्यान मार्ने धम्कीदेखि दुई प्रदेशका अध्यक्ष निलम्बनसम्म आइपुगेको छ। सत्ता समीकरणमा सहभागी हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवासमा जान लागेका दुई जनालाई रेशमले ज्यान मार्ने धम्की दिएको दाबी सोमबार मात्र गरिएको थियो। केन्द्रीय सदस्य समेत रहेका रञ्जिताका प्रमुख स्वकीय सचिव रमेश विश्वकर्माले पत्रकार सम्मेलन गरी रेशमले ज्यान मार्ने धम्की दिएको बताएका थिए। 

त्यसअघि केन्द्रीय कार्यालय अनामनगरमा विकसहित केन्द्रीय सदस्य रहेका रामलाल डगौरा थारुमाथि हातपात भएको थियो। सोही कारण खुलाउँदै नाउपा अध्यक्ष रञ्जिताले हातपात गरेको अभियोगमा गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्काशित गरिसकेकी छन्।   

त्यसअघि सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री पाउने भएपछि कांग्रेसका कमलबहादुर शाहको सरकार फर्ने प्रस्तावसहित प्रचण्डलाई भेट गर्न नाउपा अध्यक्ष श्रेष्ठसहितका नेता जाने निधो हुँदा रेशमले आक्रोशित हुँदै धम्की दिएको आरोप लागेको थियो। 

रेशमले ‘बालुवाटार जाने चारै जनाको हत्या हुन सक्छ, बालुवाटार चौकमा नै कुटपिट समेत हुन सक्छ’ भनी धम्की दिएको विषय विश्वकर्माले पत्रकार सम्मेलनमा बताएका थिए।

थरुहट आन्दोलनका क्रममा एक बालकसहित नौ जना प्रहरीको हत्या भएपछि रेशम चौधरी थुनामा पुगेका थिए। कैलालीको टिकापुर प्रकरणले रेशमको जेल सजायसँगै नाउपाको राजनीतिक उदय हुने अवसर मिलेको थियो। ०७४ मा तत्कालिन राष्ट्रि जनता पार्टी (राजपा)बाट प्रतिनिधि सभा निर्वाचन जितेका रेशम फरार अभियुक्त थिए। पछि आत्मसमर्पण गर्दै अदालतबाट आजीवन कारावास भएपछि उनको राजनीतिक ओज अझ बलियो बनेको थियो। 

राजपा जसपामा सम्मिलित भएपछिको विवादले पार्टीका विभाजन आएपछि २०७९ को निर्वाचनमा पत्नी रञ्जितालाई अध्यक्ष बनाउँदै रेशम संरक्षक रही नागरिक उन्मुक्ति पार्टी स्थापना गरिएको थियो। जसलाई कैलालीका तीन निर्वाचन क्षेत्र र बर्दियामा जनताले प्रत्यक्षतर्फ अनुमोदन गरिदिए भने समानुपातिक मतमा पनि राष्ट्रिय पार्टीको हैसियत दिलाएका थिए। 

तर सत्ताको चास्नीमा रमाएका पति–पत्नी रेशम र रञ्जिताको स्वार्थका कारण जनमतमाथि षडयन्त्र भएको आम साधारणले बताउन थालेका छन्। रेशमलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि कारागार मुक्त भए। अनि, उनले पहिलो महाधिवेशनका नाममा पार्टीको कमान्ड सम्हाल्दै अध्यक्षता पाएका थिए। निर्वाचन आयोगले त्यो मान्यता नदिएपछि रञ्जिता नै उक्त जिम्मेवारीमा फर्किइन्। त्यसपछि झनै यी दम्पत्तीबीच राजनीतिकदेखि पारिवारिक रुपमा पनि खटपट सुरु भएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार