८ महिनामा ४ लाख ७१ हजार नेपाली रोजगारीका लागि बिदेसिए

सोमबार, चैत १९, २०८०

काठमाडौँ- गत फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन सकिँदासम्म नयाँ श्रम स्वीकृति लिएर बिदेसिनेको श्रमिकको संख्या २ लाख ८६ हजार ९३२ पुगेको छ । यसबाहेक पुनः श्रम स्वीकृति लिएर जानेको संख्या १ लाख ८४ हजार २८८ जना छ ।फागुन महिनामा यूएईमा १८ हजार ७०७, साउदीमा १३ हजार २६७, कतारमा ११ हजार ३९०, मलेसियामा ८ हजार ७१४, कुवेतमा ३ हजार २०६, रोमानियामा १ हजार ७८४ जना र जापानमा१ हजार ३६० जना रोजगारीका लागि पुगेका छन् । बहराइनमा ९२८, क्रोयसियामा ९१५, मोरिससमा ८५९, दक्षिण कोरियामा ७७०, साइप्रसमा ५७७ र अमोनमा ५३३ जना श्रमका लागि उडेका छन् ।

महिनाभरिमा ३५ हजार ६६ जना पुरुष र ४ हजार ८४५ जना महिला श्रमिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

चालु आर्थिक वर्षको माघ महिनासम्म ७ महिनाको अवधिमा नेपालले विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१.६ प्रतिशतले बढेर ८ खर्ब ३९ अर्ब पुगिसकेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्