कहाँबाट परिचालित छन् दुर्गा प्रसाईं? उनीबारे हुने टिका टिप्पणी कस्ता छन्

सोमबार, चैत १९, २०८०

काठमाडौं– नेपाली सत्ता–राजनीति नै हल्लाउने गरीका विभिन्न गतिविधि गरिरहेका नागरिक र राष्ट्र बचाऊ महाअभियानका संयोजकका रुपमा आफूलाई प्रस्तुत गरेका मेडिकल व्यावसायी दुर्गा प्रसाईं भारतको तीन साता लामो बसाईपछि काठमाडौं फर्किए। 

उनी फर्किनासाथ ‘अब पैसा पनि हुन्छ, आन्दोलन झन चर्काउँछु’ भन्ने प्रतिक्रियाले चर्चामा छन्। लगत्तै विभिन्न जिल्लामा अभियानको सभा गर्ने पनि बताइसकेका छन्। 

माओवादी, एमाले हुँदै राजसंस्थावादी बनेका प्रसाईं बैंक र लघुवित्तविरुद्धको आन्दोलनका कारण चर्चामा रहेका व्यक्ति हुन्। मेडिकल कलेजले सम्बन्ध पाउने भएपछि हौसिएका प्रसाईंले अब नागरिकका लागि लड्ने बताए। तर, राज्यले भने उनी परिचालित रहेको आशंका गरेको छ। 

राजनीतिक वृत्तमा खासै चर्चामा नरहने गरे पनि उनका विषय अब सदनमा छलफल र प्रश्न बन्न थालेका छन्। पछिल्लो पटक प्रसाईंका बडीगार्ड हतियारसहित सर्वोच्च परिसरबाट पक्राउ गरिएपछि राज्य व्यवस्था समितिमा उनीबारे चर्चा भएको थियो। 

राजनीतिक शक्ति, उद्योगी र व्यापारीविरुद्ध पोखिँदै आएका प्रसाईं थप आक्रामक शैलीमा प्रस्तुत हुन थालेका छन्। 

उनको यो ताकत पछाडिको कारणबारे सरकारले खोजी गरिरहेको छ। यसबीच उनले भारतका विभिन्न ठाउँमा हिन्दू अतिवादी शक्ति र लगानीकर्तासँग भेट गरेको आशंका गरिएको छ। 

झापाको विर्तामोडमा रहेको उनको बी एन्ड सी मेडिकल कलेजले सम्बन्धनको अनुमति पाउनुपर्ने पक्षमा सर्वोच्च अदालतले आदेश दिएपछिको गर्जनका रुपमा व्याख्या गरिए पनि त्यति मात्र नभएको बुझिन्छ। 

प्रसाईंको अभियान र भिडको आक्रामक गतिमा नेपालमा हिन्दूत्व कायम गराउने भारतीय पक्ष लालयीत भएको अनुमान गरिएको छ।

उनलाई पक्राउ गरी कारबाही गरिनुपर्ने सत्ता गठबन्धनका शीर्ष नेताबीच बेलामौका चर्चा समेत हुने गरेको बताइन्छ। खासगरी सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यस्तो चर्चा हुने गरेको बताइन्छ। 

प्रधानमन्त्री प्रचण्डले प्रसाईंको गतिविधिलाई अराजक र गणतन्त्रविरोधी भएको संज्ञा दिइसकेका छन्। त्यस्तो गतिविधिलाई राज्यले नियाँलिरहेको प्रचण्डले यसअघि नै बताइसकेका थिए। 

यद्यपि, प्रसाईंको चर्चाचाहिँ ओली र प्रचण्डका कारण नै चुलिएको थियो। ०७४ अघि मात्र उनले भक्तपुरस्थित निवासमा ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रसाईंको चर्चा सुरु भएको थियो। 

अहिले प्रसाईं चर्चामा मात्र सीमित नभएर विभिन्न विवादीत अन्तरवार्ता र बोल्ने शैलीका कारण पनि सामाजिक सञ्जाल, युट्युवलगायतमा भाइरल भइरहेका छन्।
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्