फेसबुकमा तथानाम भनेर खनिने हर्क साम्पाङले गृहमन्त्रालयमा रवि लामिछानेलाई भेटेर के भने? 

आइतबार, चैत १८, २०८०

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि तथानाम भनेर खनिने गरेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गृहमन्त्री रवि लामिछानेलाई आइतबार सिंहदरबारमा भेट गरेका छन्। 

इलाम–२ को उप निर्वाचनमा रास्वपा उम्मेदवार मिलन लिम्बूकाविरुद्ध उठेका पहिचानवादी डेकेन्द्रसिंह लिम्बूलाई सहयोगको घोषणा गरेका साम्पाङले रास्वपालाई आफूलाई सिध्याउन आएको पार्टी भनी आलोचना गरिरहेका थिए।

तर उनले रास्वपा सभापति समेत रहेका गृहमन्त्री लामिछानेलाई भेटेर धरानको इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी गणको भवन निर्माणको विषयमा कुराकानी गरेको बताइएको छ। 

यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानको भवन निर्माणको विषयमा पनि साम्पाङले लामिछानेसँग कुराकानी गरेको बताइएको छ। 

उनले भेटका क्रममा कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिहरूले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको अनुभव पनि गृहमन्त्रीलाई सुनाएका छन्। 

उक्त भेटका क्रममा साम्पाङलाई गृमन्त्रीले लोकप्रिय जनप्रतिनिधिको संज्ञा दिए।

साम्पाङले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोबारे आफू गम्भीर भएको जवाफ गृहमन्त्री लामिछानेले दिएका छन्। उनले साम्पाङले उठाएका माग सम्बोधन प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन पनि दिएका छन्।
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्