त्रिविले स्नातक तहको प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा बनाउने

शुक्रबार, चैत १६, २०८०

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।

बैठकले आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको समेत जनाएको छ ।

‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ’ त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ।

परीक्षामा प्रश्नपत्र अंग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको हो।

नेपाली भाषा माध्यममा पढाइ हुने बिषयको पनि प्रश्न अंग्रेजीमा सोध्दा धेरै विद्यार्थीहरुलाई समस्या भएको थियो ।

May be an image of text that says 'ATRHANGU त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा कीर्तिपुर,काठमा्डी नेपाल ー फोन नं. ४३३०३४६ त्रिभुवन विश्वविदयालयको सूचना त्रिभुवन विश्वविदयालय प्राजिक परिषद स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गरी क्रमश: दोसो तेसो र चौथो बर्षमा समेत लागुगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ। १६ चैत्र, २०८० त्रिभुन विश्वविद्यालय'

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्