Nic Ad Nic Ad
Nic Ad Nic Ad
उपनिर्वाचन

सुहाङ नेम्वाङ फुत्किएपछि मिलन लिम्बू इलाम–२ मा उतार्ने रास्वपाको तयारी, एमालेसँगै पर्ने भयो भिडन्त

मंगलबार, चैत १३, २०८०

इलाम– सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले स्व. सुवास नेम्वाङका छोरा सुहाङलाई उपनिर्वाचनमा इलाम–२ को उम्मेदवार बनाउने निर्णय गरेपछि अर्को घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बूसँग संवाद थालेको छ। 

संवादअनुसार कुराकानी मिलेको खण्डमा चैत १७ गते रास्वपा सभापति रवि लामिछानेले लिम्बुलाई उम्मेदवार घोषणा गर्नेछन्। अहिले पनि आन्तरिक तयारीमा नै रहेको बताइन्छ। इलाम–२ को निर्वाचनका लागि त्यहाँको जिम्मेवारी दिएर सह–महामन्त्री कविन्द्र बुर्लाकोटी खटाइएको थियो। 

लिम्बुसँग बुर्लाकोटीसहित पार्टीका अन्य नेतासँग पनि निरन्तर संवाद भइरहेको बताइन्छ। यद्यपि उम्मेदवार बनाउने या नबनाउने भन्नेचाहिँ औपचारिक रुपमा टुंगो लागिसकेको छैन। 

milan-1711435127.jpg

मिलन लिम्बूले १५ वर्ष पत्रकारिता क्षेत्रमा बिताएका छन्। ३२ वर्षे मिलन इलाम–२ का स्थायी बासिन्दा हुन्। आदिवासी जनजाति पत्रकार महासंघ फोजिनका केन्द्रीय महासचिव रहेका उनी चुनावी प्रचारमा जुटिसकेका थिए।

यता बाबुको बिरासतलाई जोगाउन मैदानमा रहेका सुहाङलाई सत्ता गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रको समर्थन आइसकेको छ। पहिचानवादी आन्दोलनको समेत प्रभाव रहेको उक्त क्षेत्रमा त्रीपक्षीय भिडन्त हुने सम्भावना रहेको छ। त्यसमध्य सुहाङ एक प्रमुख उम्मेदवार हुनेछन् भने रास्वपाले उम्मेदावर बनाएको खण्डमा मिलन पनि दाबेदार रहनेछन्।

मिलनको आगामी मिशन या प्रतिबद्धता के हुन्छ त्यो आउन बाँकी छ। तर, आफू उम्मेदवार बन्ने विषयमा भने सुहाङले केही बयान सार्वजनिक गरेका छन्। 

उनले भनेका छन्– 
२०८१ साल वैशाख १५ गते इलाम क्षेत्र नं. २ को उप–निर्वाचनको लागि गौरवमय इतिहास बोकेको नेपाली जनताको प्रिय पार्टी नेकपा (एमाले) ले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । म खुशी र उत्साही छु ।

यो महत्वपूर्ण अवसरको निम्ति हाम्रो पार्टी नेकपा (एमाले) र श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु। 

यहाँहरूलाई थाहा छ, इलाममा विशेष अवस्थामा उपनिर्वाचन हुँदैछ। प्रतिनिधिसभा निर्वाचन–२०७९ मा इलामेली आदरणीय जनताहरूले मेरो बुवा उहाँहरूको प्रिय नेता सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउनु भएको थियो। तर, हामीलाई अकल्पनीय बज्रपात आइलाग्यो। भौतिक रूपमा हामीलाई छोडेर जानुभयो  उहाँको सिद्धान्त, विचार, सपना र संकल्पहरु हाम्रो साथमा रहे पनि भौतिक साथ छुट्यो। उपनिर्वाचनको परिस्थिति आइलाग्यो।

suhang_newang_file1695139123.jpeg

गएको निर्वाचनमा म बुवाको साथमा चुनावी अभियानमा थिएँ। यस क्रममा मैले बुवालाई आशीर्वाद दिने इलामेली वृद्ध बुवा आमाहरूको भावना नजिकबाट सुनेको थिएँ। 

उहाँहरूको सुख दुःख थाहा पाएको थिएँ। भविष्यप्रतिको उज्यालो आशा सहित अहोरात्र निर्वाचनमा खट्नु भएका इलामेली नौजवान साथीहरूको अपेक्षा र चाहना बुझेको थिएँ। बुवाप्रतिको उँचो विश्वास र भरोसा सहित उहाँले भविष्यप्रति राख्नु भएको आशा असाध्यै नजिकबाट थाहा पाएको थिएँ। 

बुवाको काखमा आएर लुटपुटिँदै ‘अल द बेस्ट’ भन्ने कलिला नानीहरूका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको थिएँ ।

बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो । आदरणीय इलामेली जनताहरूले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरूतिर जाने अनुमति दिएन । र भनीह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है ।’

त्यसैले म उम्मेदवारको लागि तयार भएँ। म उम्मेदवार बन्दै गर्दा आफ्नो जीन्दगीको उर्वर समय पार्टीको विकास, विस्तार र आन्दोलनका लागि खर्चिनु भएका इलामका आदरणीय नेताहरूको भावनालाई शिरमा राखेको छु। उहाँहरूको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैँ नतमस्तक छु । उहाँहरूप्रति असाध्यै ऋणी छु।
 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्