धरापको गठबन्धन

फलामको च्युरा चपाएर प्रधानमन्त्री पदमा बाहल छन् प्रचण्ड, रविलाई ‘चेक मेट’ दिने संख्या विपक्षमा

बुधबार, चैत ७, २०८०

काठमाडौं– गएको बर्षको पुस १० मा गठन गरेको जस्तो सहज अवस्थामा सरकार चलाउने स्थितिमा छैनन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। उनको सरकार यति कमजोर छ कि सत्ता गठबन्धनमा रहेको एमालेबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खुट्टा उचाले मात्र पनि अल्पमतमा पर्छ। 

गठबन्धनमा रहेका अन्य दुई साना दल जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीलाई भने प्रचण्डले घुमाउन सक्छन्। त्यति मात्र नभएर ति दुई पार्टीको असहयोग भए पनि केही संकटमा त हुनेछन् तर एकढिक्का रहेको रास्वपाबिनाचाहिँ प्रचण्डको केही सीप नचल्ने संसदीय गणित छ। 

गठबन्धन परिवर्तन भएसँगै कांग्रेस प्रतिपक्षको स्थानमा पुगिसकेको छ। जुन सुविधाजनक बहुमतका लागि पर्याप्त आधार थियो। तर, अहिले बनेको गठबन्धनमा त प्रचण्डले रास्वपालाई ‘चेक मेट’ दिने ठाउँ पनि देखिँदैन। 

प्रधानमन्त्री प्रचण्डसँग १५७ जना प्रतिनिधि सभा सदस्यको विश्वासको मत छ। यो निक्कै कमजोर कसीमा किन पनि छ भने रास्वपाका २१ सांसदले खुट्टा उचाल्दा अल्पमतमा पुगि हाल्छ। संसदमा बहुमत कायम राख्नका लागि १३८ जनाको विश्वासको मत चाहिन्छ, रास्वपा अलग हुँदा १३६ मात्र पुग्छ त्यो पनि एमालेसहितका अन्य चार दलले सहयोग गर्दा। 

रविलाई चेक मेट दिने संख्या प्रतिपक्षमा बसेको छ। अघिल्लो बर्ष सरकार गठनका बेला साथ दिएका राप्रपा र जनमत पार्टी विपक्षमा छन्। यी दुई पार्टीले रविलाई चेक मेट दिन सहज हुने थियो। किनभने राप्रपाका १४ र जनमतका ७ गरी २१ सांसद छन्। 

एक हिसाबले सरकारको चाबी नै रवि लामिछानेको हातमा छ। उनले यसको उपयोग राम्रा मन्त्रालय लिएर मात्र गरेका छैनन्, रास्वपाले काम गरेर देखाउँछ भनी सत्ताधारी पार्टी खासगरी माओवादीका नेता कार्यकर्तामाथि धरपकड थालिसकेका छन्। आरोप लागेका एमाले नेता लामिछानेले छुन समेत सक्ने अवस्था छैन, किनभने उक्त पार्टी नै उनको पदका निम्ति पनि मेरुदण्ड हो।

माओवादीका नेताहरू भटाभट समात्दा पनि प्रधानमन्त्री प्रचण्डले चुइँ गर्ने स्पेश छैन। त्यसैले उनले त्यसको जसमा टेक्ने प्रयत्न गरिरहन्छन्। यद्यपि, पपुलिष्ट राजनीतिबाट उदाएको रास्वपा र रवि लामिछानेका अगाडि प्रचण्डले जस पाउने स्थिति छैन। मानिसहरूले टिप्पणी गर्न थालेका छन्,‘यसअघि प्रधानमन्त्री र गृहमन्त्री हुँदा नै नगरेको काम रवि आएपछि हुन थालेको छ।’

त्यसो त गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिँदा नै आलोचनापूर्ण हिसाबले दिइसकेको छ। अर्कातिर स्वास्थ्य मन्त्रालयसहित जिम्मा लगाएर उपेन्द्रलाई बाँधी राख्नुपर्ने अवस्थामा छन्, प्रचण्ड। यी दुई दल मात्र पनि भड्किएको खण्डमा उनी फेरि अल्पमतमा पर्छन्। 

एकीकृत समाजवादीसँग १० र जसपासँग १२ गरी २२ सांसद छन्। यीनलाई चेक मेट दिने संख्या पनि त्यहि राप्रपा र जनमत हो, जो विपक्षको स्थानबाट सत्तामा आउने रहरमा छैनन्। एकातिर गठबन्धन फेरेर नयाँ समीकरण बनाउने खेलमा नेपाली कांग्रेस लागिसकेको छ। त्यसो हुँदा माओवादीसहितका दलहरूको लठिभद्र हुने सम्भावना पनि छ। 

यो खतराबारे सदनमा नै चर्चा भइसकेको छ। प्रचण्डलाई चेतावनी दिँदै कांग्रेसले भनेको थियो,‘तपाईले धोका दिएका कांग्रेस र एमाले मिले भने तपाई कहाँ पुग्नुहुन्छ?’

त्यसो त सरकारमा राम्रा मन्त्रालय नलिएर एमालेले किन योगदानपूर्ण राजनीतिक गरिरहेको हो भन्ने अर्को रोचक कौतुहलता पनि छ।

सरकारको सबैभन्दा ठूलो दलले न अर्थ न गृह कुनै पनि मन्त्रालय लिएको छैन। अझ, एमाले अध्यक्ष ओलीले अहिले प्रधानमन्त्री चाहिएको भनी आफूले नभनेको भनी सरल तर्क राखिरहेका छन् भने अर्कातिर कांग्रेस सभापति शेरबहादुर देउवालाई आउनुस् बसेर कुरा गरौं पनि भन्न भ्याए। 

यसकारण प्रचण्डको प्रधानमन्त्री पदको कुर्सीका चार खुट्टामा तीन वटामा एउटा मात्र रिसायो भने पनि ढल्न समय लाग्दैन। उनी फलाम च्युरा चपाएर प्रधानमन्त्री पदमा बहाल छन्।
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्