स्मरणमा गिरीजाबाबु

गिरीजाप्रसाद कोइराला ‘एक युगका ब्रेकिङ न्युज’ यसरी बनेका थिए

बुधबार, चैत ७, २०८०

काठमाडौं– जीवनको उत्तरार्धमा नेपालको राजनीतिमा कायाकल्प गरिसकेपछि तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले भनेका थिए– सायद, यो मेरो अन्तिम सम्बोधन पनि हुनेछ। सम्भवतः त्यसै नै भयो र उनी चैतको ७ गते धर्तीबाट विदा भए। 

उनको स्मृतिको १४ बर्ष पूरा भएको छ।

नेपाली राजनीतिक व्यवस्थाको कोल्टे फेराउने मुख्य व्यक्ति रहेका कोइराला एक समयका ब्रेकिङ न्युज थिए। खासगरी बिराटनगरमा रहेर पत्रकारिता गर्नेहरूका लागि भने त उनी फ्रन्टपेज कभरेज, टेलिभिजनमा काम गर्नेका लागि प्रमुख हेडलाइन।

उनी प्रधानमन्त्री, राष्ट्र प्रमुख वा कांग्रेस सभापति भएका कारणले होइन, नेपालको राजनीतिमा ‘भूकम्प’ ल्याउन सक्ने वार्तालापचाहिँ उनले बिराटनगरमा गर्दथे, यसकारण उनी ब्रेकिङ न्युज थिए। उनको निधनपूर्व डिजिटल मिडियाको यस्तो भयंकर आक्रामक अवस्था नरहेका कारण पत्रिका र टेलिभिजनमा काम गर्नेका लागि भने ‘समाचारीय दशैं’ नै थिए। 

गणतन्त्रको रापताप र राष्ट्रपतिको निर्वाचनको विषयमा चर्चा चलिरहेका बेला उनले बिराटनगरमा नै भनिदिए– बेबी किङ हुन सक्छ।

girija1679385521.jpg

यसको अर्थ मुलुकमा राजसंस्था कायम रहने र राजा ज्ञानेन्द्रको स्थानमा नाती हृदयेन्द्र शाहले दरबारको नेतृत्व सम्हाल्न सक्ने कोइरालाको संकेत थियो। यसको तत्कालिन माओवादीले खुबै बिरोध मात्र गरेन, पुत्ला पनि दहन गरेको थियो। उनको एक बोलीले कयन दिन समाचारका हेडलाइन बनिरहे। यहाँसम्मकी महान् कार्टुनिस्ट वात्सायनले सोही बयानलाई आधार बनाएर कोइरालाले ‘मरेको राजतन्त्रको सिनो’ बोकेको कार्टुन बनाइदिए। जसले ब्यापक चर्चा पायो। 

कोइराला निवासमा गिरीजाबाबुले अनेक ब्रेकिङ खबर बनाइदिए। त्यस मध्यको एक थियो मधेसमा चलेको ब्यापक आन्दोलन। मधेस आन्दोलन चलिरहेका बेला बीबीसी ट्रष्टले कोइराला निवासमा गरेको साझा सवाल कार्यक्रममा उनले भने,‘यो विषयको सम्बोधन र समाधानका निम्ति म हिन्दुस्तानसँग कुरा गर्छु।’ अर्थात् उनको प्रष्ट संकेत थियो मधेस आन्दोलनमा भारतीय पक्षको हात छ।

कोइरालालाई क्यामेरामा या रेकर्डमा बोल्नका लागि सहज थिएन। उनी ज्यादै कम राजनीतिक कुराकानी गर्दथे, अन्तरवार्ताहरूमा। गिरीजाबाबु आउने हल्ला फैलानासाथ पत्रकारहरू बिराटनगर विमानस्थलमा पुग्थे।     

क्यामेरा तेर्साएर विमानस्थलबाट कोइराला निवाससम्म पुग्दा गिरीजाबाबुले केही बोल्दैन थिए। केही भनी पो हाल्छन् कि भन्ने आशमा कोइराला निवासभित्र घन्टौं कुर्दा पनि नबोल्ने उनको त्यो बानीलाई चिर्नका लागि पत्रकारसँग एउटा उपाय थियो– नोना कोइरालासँगको आग्रह। जब, भाउजू नोनाले बोल्न आग्रह गर्थिन् अनि बार्दलीबाट गिरीजाबाबु भन्थे, ‘भोली आउनू।’

भोलीपल्ट कोइराला निवासमा हुने पत्रकार सम्मेलनमा अनेक प्रश्नको सटिक जवाफ दिन्थे, गिरीजाबाबु। स्मरणीय छ, महन्थ ठाकुरले कांग्रेस छाडेपछिको प्रश्नमा उनले भनेका थिए,‘यत्रो लामो सहकार्य गरेको ठाकुरजीले नेपाली कांग्रेस छाड्दा दुख लागेको छ।’

यसबाहेक उनले बिराटनगरबाट नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले नेपाली सेनाका तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कट्वाल हटाउने निर्णय गरेपछि ‘त्यो हुँदैन’ भन्ने प्रतिक्रिया दिएका थिए। फलतः कट्वाल पदमा कायम रहे, प्रचण्डको प्रधानमन्त्री पद गुम्यो र नयाँ सरकारको नेतृत्व माधवकुमार नेपालले पाए। नेपाललाई प्रधानमन्त्री बनाउन गिरीजाबाबुको ठूलो योगदान रहेको थियो। 

कोइराला नेपालका ति प्रधानमन्त्री हुन् जसलाई भारतले भ्रमण निम्तो दिँदा समकक्षी डा. मनमोहन सिंहले प्रोटोकोल तोडेर स्वागत गरेका थिए। यसको पनि ब्यापक चर्चा भयो।
 

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्