सिके राउतले बालेन पक्राउ गर्ने बारेमा दिएको वक्तव्यका बारेमा प्रचण्डले के भने ?

सोमबार, चैत ५, २०८०

काठमाडौं– केहिदिन अगाडि जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सरकारले पक्राउ गर्न खोजेको बताएका थिए ।

कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा अन्तर्वार्ता दिँदै अध्यक्ष राउतले त्यस्तो भनेका थिए । सरकारविरुद्ध मेयर बालेनले स्ट्याटस लेखेपछि पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई पक्राउ गर्न खोजेको तर देउवाले जोगाएको उनको तर्क थियो ।

आज कान्तिपुर टेलिभिजनको सोही कार्यक्रममा बालेनकाबारेमा सिके राउतले दिएको वक्तव्यका बारेमा प्रसंग उठेको छ । कार्यक्रमको अन्त्यतिर प्रस्तोता रूपेश श्रेष्ठले सिके राउतले बताएको बारेमा प्रश्न गर्न धेरै म्यासेज आएको भन्दै सो बारेमा स्पष्ट पार्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई भनेका थिए ।

"मैले बालेनलाई पहिले पनि लोकतन्त्रको बगैँचामा फूलेका सुन्दर फूल भनेको थिएँ । अहिले पनि त्यहि भन्छु ।" जवाफ दिदै प्रचण्डले भने, "सिंहदरबार जलाउँछु भनेर स्टाटस लेखे पछि त्यसबारेमा छलफल भएकै हो । स्पष्टिकरण लिने कि भन्ने बारेमा पनि कुरा उठेको हो । काठमाण्डौँको मेयरले त्यस्तो लेख्दा त्यसमा छलफल हुनु स्वभाविक हो तर उनलाई पक्राउ गर्ने बारेमा कसैले कुरा गरेको होइन ।"

सिके राउत अहिले गठबन्धनमा नभएकाले प्रसंगलाई अन्यत्रै मोडेको प्रचण्डको आरोप थियो ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २२:३८
प्रतिक्रिया दिनुहोस्