मधेस प्रदेशमा एमालेसहितको सरकार

सोमबार, चैत ५, २०८०

जनकपुरधाम - मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल पुनर्गठन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सहितको सरकार गठन गर्नुभएको छ । 

केन्द्रमा सत्तागठबन्धन बदलिएपछि एमालेलाई सरकारमा सहभागी गराउँदै उहाँले आज मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । पुनर्गठित मन्त्रिमण्डलमा एमालेका तर्फबाट प्रदेशसभा संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरिएको छ । 

यसअघि गत वर्ष सम्पन्न आमनिर्वाचनपछि एमालेसहितको गठबन्धन बन्दा उहाँले छोटो समयका लागि सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । मन्त्री यादवले आजै पदबहाली गर्नुभएका प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ । मन्त्री यादवले आजै पदभारसमेत ग्रहण गर्नुभएको छ ।    

केन्द्रीय गठबन्धनमा फेरबदल हुँदा पनि नेपाली कांग्रेसतर्फका मन्त्रीहरूले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले एउटा मन्त्रालय एमालेलाई दिएर बाँकी चार मन्त्रालय आफूसँगै राखी मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । उहाँसँग शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा जनसङ्ख्या, गृह, सञ्चार तथा कानुन र श्रम तथा यातायात गरी चार मन्त्रालय छन् । यद्यपि केन्द्रमा प्रतिपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीका मन्त्रीलाई भने यथावत् राखिएको छ । सो पार्टीबाट रमेशप्रसाद कुर्मी वन तथा वातावरणमन्त्री रहनुभएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  २१:३३
प्रतिक्रिया दिनुहोस्