मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि मात्र अहिलेको सरकार बनेको हो : उपप्रधानमन्त्री घुबीर महासेठ

शुक्रबार, चैत २, २०८०

बुटवल - उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि मात्र अहिलेको सरकार बनेको बताएका छन् । उनले बढ्दो आर्थिक सङ्कट कम गर्न र देशलाई राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धन बनाउनुपरेको बताएका हुन् । 

    बुटवलमा आजदेखि सुरु भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६ औँ सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले नयाँ सरकारलाई काम गर्न चुनौती भएपनि सुशासन, समृद्धि र सेवा प्रदान गर्नका लागि स्पष्ट योजनाका साथ गठबन्धन बनेकाले सेवालाई प्राथमिकतामा राखेर सरकारले काम बताए ।

    उनले विगतमा बजेट निर्माणदेखि कार्यान्वयनमा भएका कमजोरीका कारण अहिले देशका अधिकांश ठूला आयोजना अलपत्र परेको बताए । “सुरु भएका ठूला योजना सबै अलपत्र छन्, न्यून बजेट राखिएपछि यस्तो भएको हो”, उनले भने, “अलपत्र र अधुरा आयोजनालाई छिटो निर्माण गराउने र सरकारको सेवालाई प्राथमिकता दिने सरकारको मुख्य जिम्मेवारी रहेको छ ।” 

    उपप्रधानमन्त्री महासेठले भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलसहितका ठूला आयोजना निर्माण भएर पूर्ण सञ्चालनका लागि सरकारले यथाशक्य छिटो सञ्चालन र पूर्ण निर्माणको योजनाका साथ अघि बढ्ने बताएका छन् । 

    देशले निकै धेरै आर्थिक सङ्कटको सामना गर्नुपरेको अवस्थामा त्यसलाई ट्रयाकमा ल्याउन र जनतामा बढेको निराशालाई कम गर्ने सरकारको अहिलेको सरकारको मुख्य जिम्मेवारी भएको बताउँदै उनले सरकारले अघि सारेको समृद्धिको एकल सरोकारलाई निजी क्षेत्र र सामाजिक सङ्घसंस्थाले साथ दिन आग्रह समेत गरे । 

    सम्मेलनमा नेपाल र भुटानका दुई हजार रोटरियनहरु बुटवलमा जम्मा भएको सम्मेलन आयोजक समितिका संयोजक एजाज आलमले जानकारी दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्