अध्यक्ष ओलीपछि बालुवाटार पुगे सभापति लामिछाने

आइतबार, फागुन २०, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । 

आइतबार साँझ (केहिबेर अगाडी) प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेपछि रास्वपा सभापति लामिछानेसमेत  बालुवाटार पुगेका हुन् । 

अध्यक्ष ओली आइतबार बिहान पनि बालुवाटार गएका थिए । केहिबेर अघि एमाले महासचिव शंकर लामिछानेलाई लिएर ओली बालुवाटार पुगेको स्रोतले बतायो ।

लामो समयदेखि मतभेदका बीच संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेपछि आइतबारै विधेयक टुङ्ग्याउने तयारी स्वरूप कानुन समितिको बैठक बसेको थियो । तर, उक्त बैठकमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी कानुनमन्त्री धनराज गुरुङले केही विषय थप स्पष्ट पार्नुपर्ने भन्दै समय मागेपछि समितिकै बैठक निष्कर्षमा पुग्न सकेन । 

टीआरसी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र र प्रमुख सत्तासाझेदार कांग्रेसबीच खटपट सुरु भएपछि आज साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवास बूढानीलकण्ठमा कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई छलफलमा बोलाएका छन् । 

बुढानीलकण्ठमा कांग्रेस सरकारमा सहभागी मन्त्रीसहित सभापति देउवाले छलफल गरिरहेकै समयमा एमालेका अध्यक्ष ओली महासचिव पोखरेललाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेपछि रास्वपा सभापति लामिछानेसमेत  बालुवाटार पुगेका हुन् । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २१:२१
प्रतिक्रिया दिनुहोस्