भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

आइतबार, फागुन २०, २०८०

भैरहवा– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन प्रवर्द्धनका लागि सुरु गरेको अभियानमा विश्राम नलाग्ने बताएका छन् । 

आइतबार शुद्धोधन गाउँपालिका–५ मानपकडीमा इलाका प्रशासन कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सीमित साधन र स्रोतका कारण विकास र समृद्धिका क्षेत्रा गुणात्मक परिवर्तन गर्न नसकिएको बताए । 

उनले आन्तरिक सुशासन कायम नगरी भ्रष्टाचारको प्रभावकारी नियन्त्रण तथा जनतालाई सहज सेवा प्रवाह हुन नसक्ने स्पष्ट पारे । सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूलमन्त्र मानी अगाडि बढेको उनको भनाइ थियो । समृद्धिका लागि सुशासन पहिलो सर्त भएकोसमेत उनको भनाइ थियो ।

विसं २०७९ चैत्र ६ गतेको निर्णयअनुसार इलाका प्रशासन कार्यालय मानपकडीमा राख्ने तय भएको थियो । त्यसको करिब नौ महिनापछि २०८० पुस ३ गते कार्यक्षेत्र विस्तार एवं कार्यालय व्यवस्थापन गर्ने गरी गृहमन्त्रीस्तरको निकाय भएपछि मात्र इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो ।

इलाका प्रशासन कार्यालय मानपकडीबाट शुद्धोधन गाउँपालिकाको सात वटै वडा, गैडहवा गाउँपालिकाको ९ वटै वडा, सियारी गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र ७ तथा मायादेवी गाउँपालिकाको वडा नम्बर १ र २ गरी २२ वटा वडाका लागि सेवा प्रवाह हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनले यो केन्द्रबाट करिब एक लाख २९ हजार जनाले सेवा लिने गरी कार्यालयको स्थापना गरिएको बताए । यससहित रुपन्देहीमा इलाका प्रशासनको सङ्ख्या तीन पुगेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका र कोटहीमाई गाउँपालिकामा यसअघिदेखि नै इलाका प्रशासन कार्यालय छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्