रवि लामिछानेको टार्गेटमा इलाम–२, उपनिर्वाचनमा सिट थप्न ६ ‘सेनापति’ मैदान पठाए

शुक्रबार, फागुन १८, २०८०

काठमाडौं– आगामी वैशाखमा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा इलाम–२बाट जित निकाल्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ रणनीति अपनाएका छन्। 

मैदानका अवस्था बुझ्नका लागि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाएका लामिछानेले सम्भावित उम्मेदवारको नाम घोषणा नगरे पनि पार्टीका प्रभावी सांसदलाई संवादका लागि सेनापति बनाएर मैदानमा उतारेका छन्। 

उक्त क्षेत्रमा रहेका ६ वटा पालिकामा ६ सांसदलाई खटाइएको छ। जसलाई जनतासँगको संवाद पनि भनिएको छ।

रास्वपाका तर्फबाट शनिबार इलाम नगरपालिकामा सोबिता गौतम, देउमाई नगरपालिकामा गणेश पराजुलीले कार्यक्रम गरी जनतासँगको संवाद गर्ने रास्वपाले जनाएको छ। उप निर्वाचनका क्रममा चितवन–२ मा रवि लामिछाने र तनहुँ–१ मा स्वर्णिम वाग्लेको जीतसँगै एक सीट थपिएको थियो। अर्को सिट थप्ने हेतुका साथ रास्वपाले माई नगरपालिकामा मनिष झा, चुलाचुली गाउँपालिकामा अशोक चौधरी, माङसेबुङ गाउँपालिकामा हरि ढकाल र फाकफोकथुम गाउँपालिकामा अशिम शाहलाई खटाएको हो। 

सो क्रममा इलाममा रहँदा सबै सांसदले स्थानीयसँग भेटघाट र छलफल गर्ने चाँजोपाँजो भने बुर्लाकोटीले मिलाइरहेका छन्। उक्त क्षेत्रमा उम्मेदवारीका निम्ति रमेश प्रसाईं तयार पार्न सकिने आँकलन गरिएको छ। यद्यपि, रास्वपाले यस विषयमा केही खुलाएको छैन। 

प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका उपनेता सुवास नेम्वाङको निधनपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। गत निर्वाचनमा नेम्वाङ जम्माजम्मी कांग्रेस उम्मेदवारसँग ११४ मतान्तरले जित निकाल्न सफल भएका थिए। जहाँ रास्वपा तेस्रो नम्बरमा आएको थियो। 

नेम्वाङले गठबन्धनका तर्फबाट कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले हराएका थिए। नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए।

तर कतिपयले इलामको उपनिर्वाचनको अंक गणितबारे अहिले नै विश्लेषण गर्न मुस्किल हुने बताएका छन्। खासगरी कोशी प्रदेशको नामकरणका कारण पहिचानवादीहरूको पनि बलियो मत रहेका कारण रास्वपाको तयारीमा धक्का पुग्न सक्ने पनि बताइन्छ।  यसैकारण पनि रास्वपाले उक्त क्षेत्रमा पहिचान पक्षधर उम्मेदवारको खोजी गर्न सक्ने अनुमान गरिन्छ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  ११:२७
प्रतिक्रिया दिनुहोस्