पाँचथर गोल्डकप फुटबल

आयोजक पाँचथर क्लब फुटबलको फाइनलमा

बुधबार, फागुन १६, २०८०

पाँचथर– आयोजक पाँचथर क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको सेमिफाइनल खेलमा पाँचथर क्लबले बागमती युवा फुटबल क्लब, सर्लाहीलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

पाँचथर क्लबका लागि रोशन आङ्देम्बेले निर्णायक गोल गरेका हुन् । उनले खेलको पहिलो हाफको अतिरिक्त समयमा हेडमार्फत गोल गरेका थिए ।

दोस्रो हाफमा बागमतीले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न भने असफल भयो । पहिलो हाफमा बागमतीले केही आक्रामक खेलेको थियो । उसले थुप्रै अवसर खेर फालेको थियो । आजको खेलको म्यान अफ दी म्याच पाँचथर क्लबका गोलरक्षक मिराक खजुम घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।  

प्रतियोगिताअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल झापा-११ फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईंले जानकारी दिए । प्रतियोगिताको विजेताले रु पाँच लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख ५५ हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्