नेकपा विभाजनका बेला ओली–प्रचण्डका ‘तुरुप’ कालीबहादुर खाम कहाँ छन्?

बुधबार, फागुन १६, २०८०

काठमाडौँ– तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको विन्दुमा पुगेका बेला चर्चामा ल्याइएका पात्र थिए आपराधिक पृष्ठभूमीका कालीबहादुर खाम। 

जब एमाले र माओवादीलाई सर्वोच्च अदालतले ब्युँतायो यसपछि भने खामको चर्चा सेलायो। किनभने, त्यसबेला केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको ‘तुरुप’ नै खाम थिए। 

माओवादी युद्धकालमा कमान्डरको भूमिकामा रहे पनि शान्ति प्रक्रियायता भने खाम आपराधिक गतिविधिमा संलग्न हुँदै आएका थिए। ओलीले खामलगायतका लडाकुका विषयमा प्रचण्डले कहिले पनि न्यायीक काम नगरेको आरोप लगाएका थिए। प्रत्युत्तरमा प्रचण्डले आफूले बनाएको हुर्काएको खामका विषयमा ओलीले चिन्ता लिनु चटक जस्तो लागेको प्रतिक्रिया दिएका थिए। 

तर, उनै खाम अहिले के गरिरहेका छन्? कहाँ छन्? कसैले पनि चासो र चिन्ता लिएका छैनन् । 

यद्यपि खामबारेमा खोजीनीति हुँदा अहिले उनी माओवादी केन्द्रको राष्ट्रिय सुरक्षा परिषदमा रहेको जानकारी फेला परेको छ। 

विगत १६ वर्षदेखि प्रहरीको खोजीको सूचीमा रहेका फरार अभियुक्त खाम माओवादीको राष्ट्रिय सुरक्षा विभागको सदस्यका रूपमा भेटिएका हुन्। माओवादी केन्द्रको राष्ट्रिय सुरक्षा विभागको ७औँ नम्बरमा खामको नाम ।

२०६५ मा व्यापारी रामहरि श्रेष्ठलाई नियन्त्रण लिएर हत्या गरेको अभियोग खाममाथि लागेको छ।  १५ वैशाख २०६५ मा श्रेष्ठलाई कोटेश्वरबाट नियन्त्रणमा लिई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पु¥याइएको थियो। खामकै अगुवाइमा श्रेष्ठलाई नियन्त्रणमा लिएको बताइएको छ।

11701086630-1709101173.jpg

त्यतिबेला श्रेष्ठको घरमा माओवादी लडाकुको तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएको र उक्त कार्यालयबाट १४ चैत २०६४ मा १७ लाख नगदसहित हतियार चोरिएको घटना सार्वजनिक भएको थियो। 

हत्या, अपहरणजस्ता मुद्दाका फरार आरोपी कालीबहादुर खामको दैनिकी काठमाडौंमा बिते पनि प्रहरीले भेट्टाउन सकेको छैन।

गोंगबु, सुन्धारा र ठमेलका दोहोरी साँझमा रमाउने गरेका खामलाई शक्ति केन्द्रका दबाबका आधारमा नै प्रहरीले पक्राउ नगरेको बताइएको छ।

व्यस्त देखिने काठमाडौंका विभिन्न ठाउँमा रमाइलो गरेको अवस्थामा खाम भेटिने गरेको विवरणहरू अघिल्लो साता नै सार्वजनिक भएका थिए। तैपनि प्रहरीले खाम पक्राउका लागि कुनै प्रकारको कदम नउठाएको बताइएको छ ।

खाम प्रहरीको मस्ट वान्टेड सूचीमा पनि रहेका छन्। विवरणहरूमा उल्लेख भएअनुसार उनी सामाखुशीमा बस्छन् भने स्कारपियो गाडीमा चढ्ने गरेका छन्। पूर्वलडाकु कमान्डरहरूले नर्भिक अस्पतालमा पूर्वसभामुख कृष्णबहादुर महरालाई भेट्ने एक सदस्य खाम समेत रहेको दाबी गरिएको छ।

चितवनको शक्तिखोरमा पूर्वलडाकुहरुको क्यान्टोनमेन्टका कमान्डर रहेका बेला खामले तस्करीको काम पनि व्यापक पारेको आरोप लागेको थियो।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्