बेलगाम हर्क साम्पाङ, नाथे मेयर !

बुधबार, फागुन १६, २०८०

इटहरी– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नैतिक आचरण बिर्सिएर प्रतिक्रिया दिन थालेका छन् ।

धरानमा विमानस्थलका लागि पहल गरिरहेका साम्पाङ लगामबिहीन भएका छन् । नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बन्न नसक्ने अध्ययन प्रतिवेदन सार्वजनिक गरेपछि साम्पाङ विवेकहिन टिप्पणीमा उत्रिएका छन् ।

उनले पर्यटन मन्त्री सुदन किराँतीमाथि जातीवादी कडा टिप्पणी गरेपछि त्यसको सर्वत्र आलोचना सुरु भएको छ। हुन त यसअघि पनि कतिपय प्रकरणमा उनको कटाक्षको बिरोध नभएको हैन । तर, जब उनी किराँतीप्रति आक्रामक भएका छन् धरान माओवादीले उनीविरुद्ध प्रतिक्रिया दिन थालेको छ । 

यहाँसम्मकी अहिलेको अवधिसम्म साथ दिएका माओवादीका तर्फबाट निर्वाचित उपमेयर अईन्द्र बेघासँग पनि साम्पाङको चर्काचर्कीको शिलशिलाले निरन्तरता पाएको छ । 

साम्पाङले सामाजिक सञ्जालमार्फत अनेक टिप्पणी गरेका छन् ।

‘तेरो नियम संशोधन गरेर भए पनि विमानस्थल बनाउनेछौं। संविधान त परिवर्तन हुन्छ भने तेरो नाथे नियमावली । थु’ साम्पाङको आक्रोशपूर्ण टिप्पणी थियो । 

एउटा मेयर भएपछि त्यस पदको मर्यादा कति हुन्छ भन्ने हेक्का नराखेका साम्पाङले फेरि लेखेका छन्,‘सुदन किराँती मन्त्री नै हुन् कि पोचा लगाउने कुचीकार? खोई त प्राधिकरणलाई तह लगाएको? कुलको बदनामी ।’

साम्पाङले जातीय रुपमा नै मन्त्री किराँतीमाथि आक्रमण सुरु गरेका हुन्। उनले यो क्रममा लेखेका छन्,‘धरानलाई पछि पार्ने तेरो नियमावली मैले मान्दिनुपर्ने ? ट्वाइलेट पेपर हो त्यो ।’

साम्पाङको यस्तै यस्तै हर्कतका कारण धरानका नौ दलले संयुक्त विज्ञप्ति जारी गरी आचरणमा सुधार ल्याउनका लागि चेतावनी दिएको थियो। तर उनले यसलाई मान्नुको साटो अझ आक्रामक शैली पक्रिएका छन् । 

यहि शैली र आचरणले साम्पाङलाई कसले लगाम लगाउने भन्नेबारेचाहिँ चासो बढेको छ। उनले यसअघि रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन साहमाथि पनि धावा बोलिसकेका थिए । 

चुनावका बेला लाचार शैलीमा प्रचार गरेका उनलाई धरानवासीले पत्याए पनि उनी नयाँ राजाका रुपमा आफूलाई परिभाषित गरिरहेको टिप्पणी समेत हुन थालेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्