माओवादी कोशीका कोषाध्यक्ष पुरीलाई भ्रष्टचारी भन्दै मुद्दा, कमिटीमा कारबाहीबारे चर्चा

सोमबार, फागुन १४, २०८०

काठमाडौं– नेकपा माओवादी केन्द्र कोशी प्रदेशका कोषाध्यक्ष रेवतराज पुरी उर्फ गगनलाई मुख्य अभियुक्त बनाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। 

झापाको दमकस्थित रतुवा र दिपिनी खोला किनार क्षेत्रको करिब ५९ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा ३ सय ५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दायर गरेको दुई छुट्टाछुट्टै मुद्दामा मुख्य अभियुक्तका रूपमा माओवादीका स्थानीय पुरी, झापा चन्द्रगढीका तत्कालीन तीन प्रमुख नापी अधिकृत शशिकान्त झा, विष्णुकुमार न्यौपाने र संसारनाथ पाण्डे तथा दमक, झापाका तत्कालीन प्रमुख मालपोत अधिकृत बच्चुराम कार्कीसहित भूमाफिया, नेता, कर्मचारी र बिचौलियालाई विपक्षी बनाई मुद्दा दायर गरेको हो ।

दमक नगरपालिकास्थित तत्कालीन १३ र १४ वडा (हालको वडा नं. ८) मा फैलिएको खोला किनारको ५८ बिघा १४ कट्ठा १७ धुर जग्गा हिनामिना अभियोगमा मााओवादी कोशी प्रदेश कमिटी कोषाध्यक्षसमेत रहेका पुरीसहित १ सय ३८ जनालाई बिगो, कैद र जरिवाना तथा २ सय २१ विरुद्ध जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । जग्गा हिनामिना प्रकरणमा अख्तियारले दुई वटा छुट्टाछुट्टै मुद्दामा प्रतिवादी बनाएर अभियोगपत्र दायर गरेको छ।

अख्तियारले २०७८ सालबाट विस्तृत अनुसन्धान अघि बढाएको थियो। करिब २ वर्ष लामो अनुसन्धान टुंग्याउँदै अख्तियारले आइतबार नेता, कर्मचारी र बिचौलियासहितकालाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो। पुरी यसअघि सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानमा पनि अकुत कमाउने ठहर भएका थिए।

निरन्तर विवादमा आउने र भ्रष्टाचारको मुद्दा अदालतमा समेत परेपछि पुरीलाई कोशी प्रदेश कमिटीको जिम्मेवारीबाट हटाउन दबाब परेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट रहेका पुरी यसअघि पनि विभिन्न विवादमा नतानिएका होइनन्। 

एक नेता भन्छन्,‘यसरी विवाद मात्र होइन अब भ्रष्टाचारको नै अभियोग लागेपछि जिम्मेवारी मुक्त गरिनुपर्छ।’ पुरीले अकुत सम्पत्ति जोडेर पार्टीलाई समेत नोक्सान गरेका छन्। पार्टीका नाममा पनि उनले गैरकानुनी काम गरेको भन्ने आरोप लागेको छ।
 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १०:२२
प्रतिक्रिया दिनुहोस्