मन्त्रिपरिषद बैठककाे निर्णय

आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

आइतबार, फागुन ६, २०८०

काठमाडौँ– सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माका अनुसार आइतबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

आयल निगमका तत्कालीन कार्यकारी निर्देशक उमेशप्रसाद थानीले कार्यकाल नसकिँदै राजीनामा दिएपछि पद खाली थियो । सरकारले गठन गरेको सिफारिस समितिमा १३ जनाले आवेदन दिए पनि समितिले भट्टसहित डा. डोलप्रसाद चापागाईं र शत्रुघ्नप्रसाद पुडासैनीलाई सिफारिस गरेको थियो । 

समितिकै सिफारिसमा मन्त्रिपरिषद बैठकले भट्टलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

यसअघि नै निगमको कार्यकारी निर्देशकका रुपमा काम गर्दा डा.भट्टले २०७१ असोज १३ गते स्वचालित मूल्य प्रणाली शुरु गरेका थिए । साथै, उनी दुईपटक विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा समेत काम गरेका छन् । अहिले पनि उनी सेज प्राधिकरणको कार्यकारी निर्देशककै रुपमा कार्यरत छन् । 

अध्ययनका हिसाबले इञ्जिनियर रहेका भट्टले जापानको इहिमे विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । त्यस्तै, उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलेजीबाट स्नातकोत्तर समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्