टीआरसी विधेयकलाई टुङ्गोमा पुराउन सशस्त्र द्वन्द्व पीडितको आग्रह 

आइतबार, फागुन ६, २०८०

काठमाडौँ– सशस्त्र द्वन्द्व पीडितहरुले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)लाई छिटो टुङ्गोमा पुराउन सरकारसमक्ष आग्रह गरेका छन् । 

आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गर्दै सशस्त्र द्वन्द्व पीडितले टीआरसी विधेयकलाई लामो समयसम्म नअड्काई छिटो टुङ्गोमा पुराउन आग्रह गरेका हुन् ।

उनीहरुले पीडितहरुलाई न्यायहुने गरि शान्तिप्रक्रियाका कामलाइ निष्कर्षमा पुराउनुपर्ने माग गरेका छन् ।  वेपत्ता परिवारका राम कुमार भण्डारीले १७ महिनादेखि संसदमा अड्किएको विधेयकलाई टुङ्गोमा पुराएर पिडितमैत्री आयोग बनाउन माग गरेको बताए । शान्तिप्रक्रिया टुङ्गोमा पुराउन रोक्ने षडयन्त्रलाइ रोक्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको उनको भनाइ छ ।

त्यस्तै, वेपत्ता परिवारका हरि प्रसाद रुपाखेतीले आफ्नो छोरा फर्कने आशा नरहेपनि राज्यले वेपत्ताका बारेमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए ।

सशस्त्र द्वन्द्वका पीडितहरुसंगको भेटमा प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसंगसम्बन्धी विधेयकलाई दुई–चार दिनभित्रै अघि बढाउने र सदनबाट पारित गर्दै आयोग बनाउने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्