मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक [पूर्णपाठसहित]

सोमबार, माघ २९, २०८०

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । 

राष्ट्र बैंकले आज गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने गरी मौद्रिक व्यवस्थापन गरिने नीति लिइएकोमा पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत कायम भएको छ । 

यस्तै, पुस मसान्तमा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १४.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले वृद्धि भएको छ ।  पुसमा उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।  

यसैगरी, चालु आर्थिक वर्षको पुस मसान्तमा १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम भएको छ । 

बैकिङ प्रणालीमा तरलता स्थिति सहज रहेको पनि अर्धवार्षिक समीक्षामा उल्लेख छ ।  तरलता स्थिति सहज भएसँगै पछिल्लो समय अल्पकालीन तथा दीर्घकालीन ब्याजदरहरु घट्दै गएका छन् । २०७९ पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.८९ प्रतिशत रहेकोमा २०८० पुसमा ३.३७ प्रतिशतमा झरेको छ । बैंकिङ प्रणालीमा तरलता स्थिति सहज भएकोले अल्पकालीन एवम् दीर्घकालीन ब्याजदरहरु घटिरहेको अर्थवार्षिक समीक्षामा उल्लेख छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट स्थायी तरलता सुविधामार्फत रु.१ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत पटक पटक गरी रु.५१३ अर्ब ९१ करोड गरी कुल रु.५१५ अर्ब ११ करोड तरलता उपयोग गरेका छन् । यस अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत कुल रु.३१५ अर्ब ५५ करोड तरलता प्रशोचन गरिएको छ ।

पुसमा बैंक तथा वित्तीय संस्थाहरुको भारित औसत अन्तरबैंक दर २.८६ प्रतिशत कायम भएको छ । यसैगरी, आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.९ प्रतिशत अर्थात रु.२३१ अर्ब २५ करोडले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ४.० प्रतिशत अर्थात रु.१८० अर्ब ९८ करोडले बढेको थियो ।

त्यसैगरी, २०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको पुसमा १०.९१ प्रतिशत रहेको थियो । 

यस्ताे छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्