राजकुमार विलियमले पाए बेलायतको थप शाही जिम्मेवारी 

बुधबार, माघ २४, २०८०

लण्डन– राजा चार्ल्स तृतीयको क्यान्सरको उपचार भइरहेको र श्रीमतीको शल्यक्रियापछि आराम गर्नुपर्ने भएपछि बेलायती राजकुमार विलियमले थप शाही जिम्मेवारी पाएका छन् । 

राजा एक्कासि क्यान्सर निदानका लागि अस्पतालमा भर्ना हुनुपर्ने र क्याथरिनको पेटको अपरेशन भएपछि विलियमले बुधबारदेखि थप शाही जिम्मेवारी पाएका हुन् । 

४१ वर्षीय विलियम राजा चार्ल्सका जेठा छोरा तथा सिंहासनका उत्तराधिकारी हुन् । आफ्नी पत्नी तथा वेल्सकी राजकुमारी क्याथरिन र उनीहरूका तीन छोराछोरीको हेरचाहका लागि उनले सार्वजनिक कार्यक्रम स्थगित गरेका थिए । आजदेखि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै थप शाही जिम्मेवारी पाएका विलियम आजदेखि काममा फर्किएका छन् ।

उपचारका क्रममा राजा चार्ल्सको कतिपय सेवा सम्पादन गर्न राजकुमारी एनी र चार्ल्सकी पत्नी रानी क्यामिलाले भार साझेदारी गर्ने बकिङ्घम प्यालेसले जनाएको छ । 

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजाको स्वास्थ्यबारे सार्वजनिक सन्देशमा समस्या ‘छिट्टै नै पत्ता लागेको’ बताएका थिए । सन् २०२२ सेप्टेम्बर ८ मा राजा चार्ल्सकी ९६ वर्षीया आमा एलिजाबेथ द्वितीयको निधन भएको चियो । राजा चार्ल्सको शासनकालको १७ महिनापछि क्यान्सर लागेको पत्ता लागेको हो । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्