रास्वपाको राष्ट्रव्यापी दबाब अभियान सुरु

आइतबार, माघ २१, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दबाब अभियानको सुरुवात गरेको छ । आउँदो चैत २१ गतेसम्म जारी रहने पहिलो चरणको अभियानको आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट पार्टी सभापति रवि लामिछानेले शुभारम्भ गरे ।

अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीन विकासे योजना छनोट गरी २१ योजना निर्माणका निम्ति दबाब दिइने रास्वपाले जनाएको छ । उक्त योजनाको अनुगमन, ढिलासुस्तीको कारण पहिचान गर्न टोली समेत बनाइएको छ । टोलीलाई सभापति लामिछानेले ब्यानर हस्तान्तरण गरेका थिए ।

सो क्रममा सभापति लामिछानेले अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका दबाब अभियान सुरु गरिएको जानकारी दिए । उनले आयोजनाहरू समयमा नै सम्पन्न नहुने समस्याको ज्ञापनपत्र नभई समाधानसहितको पत्र सरकारलाई बुझाएर जनतालाई जानकारी दिइने बताए ।

उनले मुलुकको परिवर्तनका निम्ति ‘निलो क्रान्ति’मा पसिना बगाउनुपर्ने धारणा राखे । अभियानका क्रममा रास्वपाले पार्टीको एउटा पनि झन्डा प्रयोग नगर्ने उनले जानकारी दिए ।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले आन्तरिक बेथितिलाई अन्त्य गर्दै सुशासन कायम गर्न दबाब अभियान सुरु गरिएको बताए । ०८४ मा रास्वपाको सरकार आएपछि सबै विकृति बढारिने उनको भनाइ छ ।

दबाब अभियानका निष्कर्षलाई संसद् र संसदीय समितिमार्फत छलफलमा लैजाने उनले उल्लेख गरे । अबको संसद् अधिवेशनमा सरकारले ‘बिजनेस’ दिन नसके रास्वपाले आफ्नै विधेयक ल्याएर दर्ता गर्ने उनले बताए ।

मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका निम्ति अभियानअन्तर्गत आइतबार नै सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्रा सुरु गरिएको थियो । पदयात्राका क्रममा स्थानीयको सुझाव तथा गुनासा समेत लिइने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्