मन्त्री फ्याँक्न प्रधानमन्त्री प्रचण्ड कस्सीए, कस–कसको जान सक्छ पद?

शुक्रबार, माघ १२, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका मन्त्री हेरफेरको अभ्यासका लागि कस्सिएका छन्। उनले गठबन्धन दलका नेतासँग छलफल गरेर मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन्। 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालय स्थानान्तरणको प्रस्ताव गरिनेछ। श्रेष्ठले मन्त्रीको साटो राष्ट्रिय सभा अध्यक्षको दाबेदारी पनि गरेका छन्। तर, कांग्रेसले त्यहाँ नछाड्ने हुँदा के गर्ने भन्ने विचारमा प्रचण्ड जुटेका छन्। उनले श्रेष्ठलाई पार्टीमा सक्रिय हुन लगाएर गृह कांग्रेसलाई दिँदै अर्थ मन्त्रालयमा बर्षमान पुनःको नेतृत्व दिन चाहेको बताइएको छ।

अर्थमन्त्री प्रकाशशरण महतलाई पनि जिम्मेवारीबाट हटाउने तयारी भएको बताइन्छ। यद्यपि यसको निर्णयचाहिँ कांग्रेस सभापति शेरबहादुर देउवासँगको परामर्शमा मात्र प्रचण्डले गर्ने उच्च स्रोतको दाबी छ। प्रकाशशरणलाई मन्त्रीबाट हटाएर कांग्रेसले गगन थापालाई सरकारमा प्रवेश गराउन सक्ने बताइन्छ। 

सञ्चारमन्त्री हुँदादेखि नै विवादमा आएका मोहनबहादुर बस्नेतलाई पनि मन्त्री पदबाट हटाउने तयारी भएको छ। उनी स्वास्थ्य सम्बन्धी सामग्री खरिद प्रकरण, वीर अस्पतालको कर्मचारी सरुवा र भर्ना प्रकरणमा पनि विवादमा आएका छन्। 

दुई जनाको ज्यान जानेगरी बालकुमारी घटना हुने स्थिति निर्माण गर्ने यातायातमन्त्री प्रकाश ज्वालालाई समेत हटाउने तयारी गरिएको छ। उनको ठाउँमा नयाँ मन्त्रीको नाम नेकपा एकीकृत समाजवादीसँग मागिनेछ। 

पर्यटनमन्त्री सुदन किराँतीलाई पनि जिम्मेवारीबाट मुक्त गर्ने तयारीमा प्रचण्ड रहेका छन्। क्रिश्चियन समाजको एउटा कार्यक्रममा गएर विवादीत अभिव्यक्ति दिएपछि उनको ब्यापक आलोचना भएको थियो। 

सामान्य प्रशासन मन्त्री अनिता साहको पनि जागिर जाने निश्चित छ। गठबन्धनबाट नै जनमतलाई हटाउँदा उनको मन्त्री पद जानेछ। त्यसमा नेकपा एकीकृत समाजवादीका नेतालाई ल्याउने तयारी भएको बताइन्छ।

यता विवादमा आएका श्रममन्त्री शरतसिंह भण्डारीको विकल्पमा पनि नाम दिनका लागि लोकतान्त्रिक समाजवादी पार्टीसँग प्रचण्डले भन्ने बताइन्छ। यसैगरी जसपासँग पनि शिक्षामन्त्रीमा वैकल्पिक नेताको नाम मागिने बताइएको छ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्